पुँजी बजारमा हरियालीः कारोबार रकम ६ अर्ब ३० करोड, फर्किएको हो त रौनक ?

२२ पुष २०८१, सोमबार १५:०६

काठमाडौँ । तीन दिनको झिनो सुधारपछि आज शेयर बजारमा दोहोरो अकंको हरियाली देखिएको छ । यो सुधारसँगै बजारले चौथो दिन लगातार सकारात्मक संकेत देखाएको छ । केही महिनादेखि सुस्त देखिएका बजारले अब पुनः लय समातिरहेको प्रतीत हुँदै आएको छ । कारोबार रकममा पनि सुधारको लहर समाइरहेको छ ।

वर्तमानमा वित्तीय प्रणालीमा अधिक तरलता पाइरहेको अवस्था छ । बैंकहरूले कर्जा प्रवाहमा सीमितता राखेका छन् भने ब्याजदरहरू निरन्तर घटिरहेका छन् । यस अतिरिक्त, केन्द्रीय बैंकले दैनिक रूपमा वित्तीय प्रणालीबाट पैसा खिचिरहेको छ, जुन अधिक तरलताका कारण हो ।सस्तो ब्याजदर र अत्यधिक तरलताको वातावरणले शेयर बजारमा सकारात्मक प्रभाव पार्न सक्ने सम्भावना व्यक्त गरिएको छ ।

तर, बजारमा अहिले पनि कम पुँजी भएका र जंक स्टकहरूको मूल्य वृद्धि देखिन थालेको छ । यद्यपि, राम्रो फन्डामेन्टलका लार्ज क्याप कम्पनीहरू भने अझै प्रतिफल देखाउन नसकेका छन् । यस्तो अवस्थामा लगानीकर्ताहरूको उत्साह बढ्न सकिरहेको छैन, कारण राम्रा कम्पनीहरूको मूल्य स्थिर रहेका छन् । वर्तमान बजारमा केही न–फन्डामेन्टल कम्पनीहरूको मूल्य एकाएक बढिरहेका छन् । तर, तुलनात्मक रूपमा आधारभूत रूपमा सबल, वित्तीय सूचकहरू मजबुत र नियमित लाभांश वितरण गर्ने कम्पनीहरूको मूल्य भने निकै कम स्तरमा रहेको छ ।

यद्यपि, आम लगानीकर्ताले भने सबल वित्तीय सूचक भएका, लगातार लाभांश दिएको वा दिन सक्ने, संस्थागत सुशासन अब्बल रहेका कम्पनीहरुमा सकेसम्म लामो समय होल्ड गर्ने ढंगले लगानी गर्न अनुभवीहरुले सुझाव दिने गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१२ अकंले बढेर २६४०.६८ बिन्दुमा कायम भएकोछ । आज ३१२ कम्पनीको १ करोड ५४ लाख ६१ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३० करोडको शेयर कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको १.०९ प्रतिशत, विकास बैंक समूहको २.४६ प्रतिशत, फाइनान्स समूहको १.१९ प्रतिशत, होटल तथा पर्यटन समूहको २.९९ प्रतिशत, हाइड्रोपावर समूहको ३.५५ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ३.२३ प्रतिशतले शेयर मूल्य बढेकोछ ।

आज २२६ कम्पनीको शेयर मूल्यमा सुधार आउँदा १२ कम्पनीको मात्र घटेकोछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*