नेपाल क्लियरिङ्ग हाउसको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को तेह्रौं वार्षिक साधारणसभा हिजो पुस २८ गते काठमाडौंमा सम्पन्न भएको छ।
सभाले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयोजनका लागि) लाभांश वितरणको प्रस्ताव पारित गरेको छ, यससँगै कम्पनीको चुक्तापूँजी १ अर्ब २६ करोड ८२ लाख ७० हजार ९०० रुपैयाँ पुग्ने भएको छ।
सभाले वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै अधिकृत पुँजी २ अर्ब २५ करोड पुर्याउने निर्णय पनि गरेको छ। वृद्धि भएको पूँजीले नेशनल पेमेन्ट स्वीच, क्रस बोर्डर कारोबारका लागि नयाँ प्रणाली विकास, जोखिम व्यवस्थापनको सुदृढीकरण र पूर्वाधारहरूको स्तरोन्नतिको काम अघि बढाइने कम्पनीले बताएको छ।
कम्पनीले गत आवमा १५६ खर्ब रुपैयाँ बराबरको १२.६ करोड भुक्तानी कारोबार फर्छ्यौट गरेको छ। यो संख्या ५४% ले वृद्धि भएको हो। सोही अवधिमा कम्पनीको खुद नाफा ६.२% ले बढेको छ।
सभामा कम्पनी सञ्चालक समितिका तीन जना सदस्यहरू पुनः निर्वाचित भएका छन्। निर्वाचित हुनेहरूमा हिमालयन बैंकका उप–प्रमुख कार्यकारी उज्ज्वल राजभण्डारी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ उप–प्रमुख कार्यकारी महेश शर्मा ढकाल र सिद्धार्थ बैंकका प्रमुख सूचना प्रविधि अधिकारी सृजन मल्ल छन्।
एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका एक, वाणिज्य बैंकका तीन, विकास बैंक, फाइनान्स कम्पनी र स्वतन्त्रतर्फका एक–एक गरी सात सदस्य रहनेछन्। कम्पनीको स्वामित्वमा नेपाल राष्ट्र बैंकको ९.४५% र बाँकी ९०.५५% बैंक तथा वित्तीय संस्थाहरूको हिस्सा छ।












