जुट्यो घुन्सा खोला जलविद्युत् आयोजनालाई रकम, ३ वाणिज्य बैंकसहित पाँच संस्थाले लगानी गर्ने

१४ माघ २०८१, सोमबार १०:४७

काठमाडौँ। ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकामा निर्माण गरिने ७७।५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजनाको लागि आवश्यक लगानी सुनिश्चित भएको छ। आयोजनाको प्रवद्र्धक रेमिट हाइड्रो लिमिटेडले आइतबार बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर गरेको छ।

आयोजनाको निर्माणका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले १२ अर्ब ७० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। लक्ष्मी सनराइज बैंकले ५ अर्ब रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले ३ अर्ब रुपैयाँ, नागरिक लगानी कोषले २ अर्ब रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब ४५ करोड रुपैयाँ र एभरेष्ट बैंकले १ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गर्ने सहमति गरेका छन्।

घुन्सा खोलाको पानीको उपयोग गर्दै आयोजना निर्माण गरिनेछ। कुल लागत १८ अर्ब १३ करोड रुपैयाँ हुने अनुमान गरिएको छ, जसमा निर्माण अवधिभरको ब्याज पनि समावेश छ। आवश्यक वित्तीय व्यवस्थापन स्वपूँजी र ऋण लगानीबाट हुनेछ।

आयोजनाको ५१ प्रतिशत स्वपूँजी नेपाल विद्युत् प्राधिकरण, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, र विद्युत् उत्पादन कम्पनी लिमिटेडबाट जुटाइनेछ। बाँकी ४९ प्रतिशत जनताका लागि छुट्याइएको छ, जसमा २९ प्रतिशत वैदेशिक रोजगारमा रहेका नेपालीका लागि विशेषतः सुनिश्चित गरिएको छ। स्थानीयवासीका लागि १० प्रतिशत र सर्वसाधारणका लागि बाँकी १० प्रतिशत शेयर वितरण हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*