गोर्खाज फाइनान्समा कैफियतकै भरमार, नियामक निर्देशन बेवास्ता

काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडको आर्थिक वर्ष २०८०।८१ को वार्षिक वित्तीय विवरण गम्भीर कैफियत देखिएको छ। नियामक निकायले गरेको गैरस्थलगत सुपरिवेक्षणका क्रममा कम्पनीको वित्तीय विवरणमा कैफियत देखिएको हो ।
नियामक निकाय राष्ट्र बैंकले संस्थाको वार्षिक प्रतिवेदनमा देखिएको कैफियतहरू सुधार गर्ने निर्देशन दिएको भए पनि संस्थाले यसलाई बेवास्ता गर्दै पुरानै समस्या दोहोर्याएको पाइएको छ। सबैभन्दा गम्भीर समस्या कर्जा प्रवाहपछिको सदुपयोग सुनिश्चिततामा देखिएको छ। नियामकले कर्जा प्रवाहपछि यसको सदुपयोगका लागि अनिवार्य निगरानी गर्न निर्देशन दिएको थियो। तर, संस्थाले यसमा कुनै ठोस योजना नल्याएको र कर्जाको प्रभावकारी व्यवस्थापनमा ध्यान नदिएको स्पष्ट देखिन्छ।
त्यस्तै, निष्क्रिय कर्जाको बढ्दो समस्या पनि समाधान हुन सकेको छैन। निष्क्रिय कर्जा अनुपातलाई क्रमिक रूपमा घटाउने समयबद्ध योजना बनाउनुपर्ने निर्देशनप्रति फाइनान्सले चासो नदेखाएको पाइएको छ। यसले संस्थाको वित्तीय स्थायित्वमाथि गम्भीर असर पारेको छ।
गैर बैंकिङ्ग सम्पत्तिहरूको विक्रीमा समेत संस्थाको निष्क्रियता स्पष्ट देखिन्छ। नियामकले गैर-बैंकिङ्ग सम्पत्ति विक्री र खराब कर्जा असुलीलाई प्राथमिकतामा राख्न निर्देशन दिएको भए पनि, यसमा खासै प्रगति हुन सकेको छैन।

आन्तरिक र बाह्य लेखापरीक्षकद्वारा औंल्याइएका समस्याहरू पुनः नदोहोरिने व्यवस्था गर्नुपर्नेमा फाइनान्सले यसलाई बेवास्ता गरेको देखिन्छ। सूचना प्रविधि, अनुपालना, संस्थागत सुशासन र ग्राहक पहिचानका मुद्दामा सुधार गर्न बारम्बार निर्देशन दिइएको भए पनि यी क्षेत्रहरूमा समस्या यथावत् छन्।
नेपाल राष्ट्र बैंकले फाइनान्सको लेखापरीक्षण प्रतिवेदनमा देखिएका कमजोरीहरू शेयरधनीहरूलाई जानकारी दिन वार्षिक प्रतिवेदनमा समावेश गर्न निर्देशन दिएको थियो। तर, संस्थाले यो निर्देशनलाई समेत बेवास्ता गर्दै संस्थागत सुशासन र उत्तरदायित्वप्रति गैरजिम्मेवार व्यवहार देखाएको छ।
आर्थिक क्षेत्रमा संस्थागत सुशासन र वित्तीय अनुशासनको पालनामा यस्ता संस्थाहरूले देखाएको उदासीनता गम्भीर विषय बनेको छ। गोर्खाज फाइनान्सको यो प्रवृत्तिले ग्राहक र शेयरधनीहरूमा नकारात्मक सन्देश प्रवाह गरेको छ।
गम्भीर संकटमा गोर्खाज फाइनान्स, विवादकै कारण साधारण सभा स्थगित












