६ महिनामा १६ अर्ब रुपैयाँको शेयर सूचीकृत, कुन क्षेत्रको कति ?

२० माघ २०८१, आईतवार १८:२५

काठमाडौँ । चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा धितोपत्र बजार पूँजीकरण ४३ खर्ब २ अर्ब ८८ करोड कायम भएको छ । केन्द्रिय बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आवको सो अवधिमा २१२०.६२ रहेको नेप्से सूचकाङ्क चालु आवको पुस मसान्तमा २५९४.१३ कायम भएको छ ।

समीक्षा अवधिसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५४.२ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १६.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत ८ अर्ब ६४ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब ५१ अर्ब ३७ करोड रहेको छ । आर्थिक वर्ष २०८१÷८२ को छ महिनामा ७ अर्ब १७ करोड रुपैयाँ बराबरको बोनस शेयर, ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ३ करोड ९८ लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य शेयर गरी कुल १६ अर्ब ३३ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*