सिवाईसी नेपाल लघुवित्तको वित्तीय सूचकमा लोभलाग्दो प्रगति, ईपीएस कति?

२३ माघ २०८१, बुधबार ०९:४१

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १०४ दशमलव ५९ प्रतिशत वृद्धि भएको छ।

कम्पनीले गत आवमा २ करोड १० लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर ४ करोड ३१ लाख रुपैयाँ पुगेको हो। चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले खुद नाफा बढेको हो।

कम्पनीको सञ्चालन नाफा गत आवमा २ करोड ४९ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ५ करोड ९३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद ब्याज आम्दानी गत आवमा १३ करोड १८ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर १७ करोड ४० लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी २६ करोड ६४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३४ करोड ६५ लाख रुपैयाँ र सञ्चित मुनाफा ५ करोड ७७ लाख रुपैयाँ रहेको छ। कम्पनीले २ अर्ब ६६ करोड रुपैयाँ सापटी लिएर २ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) (वार्षिकीकरण) पनि वृद्धि भएको छ। गत आवको दोस्रो त्रैमासमा कम्पनीको ईपीएस १५ रुपैयाँ ८४ पैसा रहेकोमा चालू आवमा बढेर ३२ रुपैयाँ ४० पैसा पुगेको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ २५१ रुपैयाँ ७४ पैसा छ भने खराब कर्जा ४ दशमलव ३५ प्रतिशत रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*