शेयर धितो कर्जामा एसबीआई र माछापुच्छ्रे आक्रामकः नबिल र ग्लोबलको टक्कर, कुनले कति गरे लगानी ?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो ६ महिना (साउनदेखि पुषसम्म) मा वाणिज्य बैंकहरूबाट ९१ अर्ब ५४ करोड २१ लाख रुपैयाँ मार्जिन प्रकृति अर्थात शेयर धितो कर्जामा लगानी भएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०।०८१ को सोही अवधिको तुलनामा शेयर धितो कर्जा ३८.९९ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्म वाणिज्य बैंकहरूबाट ६५ अर्ब ८६ करोड १९ लाख रुपैयाँ शेयर धितो कर्जामा लगानी भएको थियो । १७ बैंकहरूले शेयर कर्जामा लगानी बढाएका छन् भने २ बैंकले घटाएका छन् ।
यसअवधिमा नेपाल एसबिआई बैंकले सर्वाधिक २३१ प्रतिशतले शेयर धितो कर्जाको लगानी विस्तार गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा एसबिआई बैंकको शेयर कर्जा लगानी ४७ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, माछापुच्छे बैंकको शेयर कर्जा लगानी १५५.६७ प्रतिशतको बढेर १ अर्ब २३ करोड ५७ लाख रुपैयाँ, कुमारी बैंकको ११३ प्रतिशतले बढेर ८ अर्ब ४७ करोड ९७ लाख रुपैयाँ र एनएमबि बैंकको ८०.१९ प्रतिशतले बढेर १ अर्ब ७७ करोड २१ लाख रुपैयाँ पुगेको छ ।
पुष मसान्तसम्ममा सबैभन्दा बढी कर्जा लगानी नबिल बैंकले गरेको छ । नबिलले यसअवधिमा कुल १२ अर्ब ६० करोड ९२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको तुलनामा नबिलले मार्जिन प्रकृतिक कर्जामा आफ्नो लगानी ९.०५ प्रतिशतले बढाएको छ । गत वर्षको सोही अवधिमा बैंकले शेयर धितो कर्जामा ११ अर्ब ५६ करोड रुपैयाँ लगानी गरेको थियो ।
ग्लोबल आइएमईले ११ अर्ब ५५ करोड रुपैयाँ लगानी गरेको छ । बैंकले शेयर धितो कर्जाको लगानी ७९ प्रतिशतले बढाएको हो ।
यसअवधिमा सिद्धार्थ बैंकको ७९ प्रतिशतले बढेर ८ अर्ब ३ करोड, प्राइम बैंकको ५२ प्रतिशतले बढेर ६ अर्ब ५३ करोड, सिटिजन्स बैंकको ३९ प्रतिशतले बढेर ५ अर्ब ९७ करोड, आरबिबिको ४ अर्ब ४८ करोड, प्रभु बैंकले ४ अर्ब २३ करोड, लक्ष्मी सनराइज बैंकले ३ अर्ब ९२ करोड रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेका छन् ।












