तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज फेरि ४० अर्ब रुपैयाँ खिच्दै

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज फेरि ४० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट खिच्ने भएको छ । तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले फागुन ४ गते दिउँसो ३ बजे बोलकबोल गर्ने जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँको गुणांकमा बोलकबोल गर्न सक्नेछन् । यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन् ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा हुने र बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ । यो २१ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज फागुन २५ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
बैंकिङ प्रणालीमा कर्जाको माग नबढेपछि अधिक तरलता देखिएको हो । यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरु ३ प्रतिशतभन्दा कम ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भएका छन् । राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै तरलता व्यवस्थापन गरिरहेको छ ।












