गर्भनर अधिकारीको अन्तिम अर्धवार्षिक समिक्षा आउँदै, लगानीकर्ताले पाउलान् सरप्राइज ?

८ फाल्गुन २०८१, बिहीबार १६:१२

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको कार्यकाल २०८१ चैतमा सकिँदैछ। कार्यकालको अन्तिम चरणमा प्रवेश गर्दा नयाँ गर्भनर बन्ने दौडधुप सुरु भइसकेको छ। सम्भावित उम्मेदवारहरू राजनीतिक पहुँच बढाउने, प्रमुख नेताहरूको समर्थन खोज्ने र आफ्नो प्रभाव जमाउने प्रयासमा सक्रिय देखिन्छन् ।

यसैबीच, गर्भनर अधिकारी भने आफ्नो अन्तिम मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारीमा जुटेका छन् । राष्ट्र बैंकले फागुन १५ सम्म नीति सार्वजनिक गर्ने योजना बनाएको छ। निजी क्षेत्रले सरकारको बलियो साथ पाए पनि केन्द्रीय बैंकबाट अझै सहयोगको अपेक्षा गरिएको छ । यता, पुँजी बजारका लगानीकर्ताहरूले गर्भनरमाथि नीतिगत हस्तक्षेपको आरोप लगाइरहेका छन्, जसलाई चिर्ने चुनौती अधिकारीसँग रहनेछ ।

हाल अर्थतन्त्र क्रमशः लयमा फर्किन थालेको संकेत देखिए पनि नीतिगत अवरोध कायमै छन् । मौद्रिक नीतिमा भएका कडाइका कारण शेयर बजार प्रभावित बनेको छ । यदि यस पटक पुँजी बजारलाई सहयोगी नीति ल्याइयो भने गर्भनर अधिकारी लगानीकर्ताहरूका लागि सकारात्मक स्मरणीय पात्र बन्नेछन् । तर, यदि सुधारको उपाय नअपनाए उनको कार्यकाल शेयर बजारका लागि सबैभन्दा कठिन समयका रूपमा याद गरिनेछ ।

अबको समीक्षामा शेयर धितो कर्जामा सुधार, लगानीयोग्य वातावरण सिर्जना र बैंक–वित्तीय संस्थाहरूको शेयर कारोबारमा सहजता दिने जस्ता विषयहरूमा ध्यान दिएमा मात्र गर्भनर अधिकारीले आफ्नो कार्यकाललाई सकारात्मक रूपमा अन्त्य गर्न सक्नेछन् । अन्तिम मौद्रिक नीति उनको आर्थिक व्यवस्थापन क्षमताको परीक्षा बन्ने देखिन्छ ।

प्रायः शेयर बजारका लगानीकर्ता अधिकारीसँग जहिले पनि रुष्ट हुँदै आइरहेका छन् । पुँजी बजार सुधारका लागि गर्भनर अधिकारीको भूमिका उदासीन रहेको लगानीकर्ताको आरोप रहेको छ । शेयर बजारमा सबैभन्दा ठुलो भूमिका मौद्रिक नीतिको रहेको हुन्छ । मौद्रिक नीतिबाट आउने पोलिसिले नै शेयर बजार कता लैजाने भन्ने बाटो तयार गर्छ । पछिल्लो समय राष्ट्र बैंकले शेयर बजारलाई कसेर राखेको आरोप लगानीकर्ताको रहँदै आइएको छ ।

लगानीकर्ताले मौद्रिक नीति मार्फत शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतलाई १०० प्रतिशत र १५ करोड करोडको सीमा हटाउनु पर्ने माग लामो समयदेखि उठाउँदै आएका छन् । सुझाव दिने बेला लगानीकर्तालाई सम्बोधन हुने आश्वासन दिने राष्ट्र बैंकले शेयर बजारका नीति सुधारका लागि कुनै कदम अगाडि बढाइएको पाइँदैन । यता, लाभांश वितरणमा माइक्रोफाइनान्सलाई लगाएको क्याप पनि हटाउनु पर्ने माग लगानीकर्ताको रहँदै आएको छ । उक्त क्षेत्रमा लगाएको क्यापका कारण लघुवित्तको शेयरमा लगानीकर्ताको आकर्षण समेत घट्दै गएको देखिन्छ ।

पछिल्लो समय शेयर बजार भने सकारात्मक नै रहेको देखिन्छ । बजार करेक्सन हुँदै अघि बढी रहँदा लगानीकर्ताको मनोबल समेत सुधार हुँदै आएको छ । गर्भनर अधिकारीले केहि बाधा गर्ने बुँदा सामान्य सुधार मात्र गरे बजारले बुलको यात्रा तय गर्ने विश्वास गरीएको छ ।

निरन्तर लगानीकर्ताको विरोधको भुमरीमा पर्दै आइरहेका गर्भनर यस पटक अन्तिम मौद्रिक नीतिमा जय जयकार भएर बिदाइ हुने चाहाना रहेका छन् । शेयर बजारलाई बाधा गर्ने नीति परिमार्जन गर्ने गर्भनर अधिकारी सकारात्मक रहेका हुन् । गभर्नर अधिकारीको अन्तिम मौद्रिक समीक्षा भएकाले पनि उनले केही सरप्राइज दिन सक्नेमा आश लगानीकर्तामा रहेको छ ।

अर्थतन्त्रमा सकारात्मक महोल सिर्जना भइरहेको हुँदा बाधिएर राखेक कुरा फुकाउन गर्भनर अधिकारी सकारात्मक रहेको राष्ट्र बैंकको उच्च स्रोतले बताएको छ । ‘अर्थतन्त्र थला परेको बेला केहि नीति कस्नु नै पर्ने थियो । जसले गर्दा राष्ट्र बैंकले नीति कसेर राखेको हो’स्रोतले भन्यो, ‘अब अर्थतन्त्र बिस्तारै लयमा आइरहेको छ । अब केही बाँधिएका नीति फुकुवा गर्ने गर्भनर सकारात्मक छन् । शेयर बजारलाई बाधा गरेका व्यवस्था चलाउन समेत छलफल भइरहेको छ ।’

आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीतिको अन्तिम समिक्षा भएको हुँदा गर्भनर अधिकारीले सबै क्षेत्रलाई सकारात्मक नीति दिएर जाने अपेक्षा गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*