साना किसान तथा कृषि सहकारी सुदृढिकरणका लागि अध्यक्ष पाठकको देशव्यापी नेतृत्व प्रशिक्षण अभियान

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले सहकारी संस्था सुदृढिकरणको लागि देशव्यापी अभियान सुरु गरेका छन् । साना किसान कृषि सहकारी तथा समान प्रकृतिका अन्य कृषि सहकारी संस्थाका संचालक, लेखा समिति तथा कर्मचारीहरुको क्षमता विकास, संस्थागत सुशासन कायम गराउन, संस्था प्रति जिम्वेवार बनाई राख्न तथा सहकारी संस्थाको नेतृत्व तहमा काम गर्दा ध्यानदिनु पर्ने विषय लगाएत संस्थाको छवि वलियो वनाउन जोडदिनु पर्ने विषयमा प्रशिक्षण गर्न कार्यक्रमको आयोजना गरिएको हो ।
सहकारी संचालक, लेखा समिति तथा कर्मचारीहरुको लागि आयोजित आम भेला तथा प्रशिक्षण कार्यक्रम फाल्गुन १३ गते मोरङको उर्लावारी तथा फाल्गुन १४ गते सुनसरी जिल्लाको इटहरीमा ५८ वटा साना किसान सहकारी र १२ वटा अन्य कृषि सहकारी संस्थाका करिब पाँच सय जनाको सहभागितामा सम्पन्न गएको छ । कार्यक्रम देशभरीका ७७ वटै जिल्लामा संचालन हुने अध्यक्ष खेम बहादुर पाठकले जानकारी दिए। सहकारीमा सुशासन स्थापित गर्न र वर्तमान अवस्थामा सहकारीलाई सहि बाटोमा अगाडि बढाउन सञ्चालक, लेखा सुपरिवेक्षण समिति र कर्मचारी जिम्मेवार हुनुपर्ने बताए ।
पद र पैसाको लागि सहकारी सिद्धान्त, सहकारी एने/निर्देशिका, सहकारीका आन्तरिक कार्यविधि नै अध्ययन नगरि हचुवा भरमा संचालक समितिमा निर्वाचित हुने पदमा आए पश्चात् संस्थाको हितमा केही काम नगर्ने तर कसैले सोधे सहकारीको संचालक हुँ भन्ने प्रवृतिको अन्य गर्न तथा ऐन कानुन अध्ययन गर्न अध्यक्ष खेम बहादुर पाठकले सहभागिलाई अनुरोध गरे । कार्यक्रममा प्रशिक्षण गर्दै सहकारीका नेतृत्व तहमा रहेका व्यक्तीले आफ्नो भुमिका नै नबुझि पदमा आए सहकारी संस्था कमजोर बन्ने बताए ।

अध्यक्ष पाठकले सहकारी संस्था सुधारका लागि सबैभन्दा पहिले सञ्चालक, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरु जिम्मेवार हुनुपर्नेमा जोड दिए । उनले केन्द्रीय नेतृत्व पनि संस्था सुधारका लागि जिम्मेवार हुने भन्दै सबै केन्द्रीय संघहरुले आ—आफ्नो सञ्जालमा रहेका संस्थाहरुलाई बिग्रन नदिन आफै नेतृत्व अगाडि बढ्नुपर्ने बताए । समस्या आएपछि होइन समस्या आउनै नदिने गरी देशभर अभियान चलाउनुपर्ने भन्दै उनले साना किसान र समान प्रकृतिका कृषि सहकारी संस्थाहरुमा आफु र आफ्नो नेतृत्वमा चलेको अभियानले सकारात्मक नतिजा हासिल गर्न सकिएको बताए ।
सहकारी संस्थामा वाह्य असर पर्न नदिने गरी संस्थाहरुलाई बलियो बनाउने, सुशासन र सुद्धृढिकरणमा समेत ध्यान दिने गरी संस्थाका सबै जिम्मेवार पदाधिकारीहरु सजग हुन उनले आव्हान समेत गरे ।
अध्यक्ष पाठक आफै देशभरका कृषि सहकारी संस्थाहरुमा वर्तमान अवस्थामा देखिएको वाह्य असर नपरोस र संस्थाहरुमा सुशासन स्थापित भई सहज ढंगबाट संस्था सञ्चालन हुनुपर्छ भन्ने उद्घोषका साथ यस प्रकारको प्रशिक्षण कार्यक्रम लिएर पुग्ने गरेका छन् ।

यसैगरी कार्यक्रममा पारिवारीक खेती कार्यक्रमको महत्व, आवश्यकता र यसको सकारात्मक प्रभावका बारेमा समेत अध्यक्ष पाठकले प्रशिक्षण गरेका थिए । उनलेले कृषि उत्पादन बढाउन र आफ्ना लागि आफै उत्पादन गर्ने परिपाटीको विकास गर्न पारिवारीक खेतीले सहयोग पुग्ने भन्दै विश्वभर अभियानका रुपमा सञ्चालन भईरहेको पारिवारीक खेती कार्यक्रमलाई नेपालले पनि अगाडि बढाइरहेकोले यसमा जोडिन सबैलाई अनुरोध गरे ।
कार्यक्रम साना किसान विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय इटहरीको आयोजना तथा जिल्ला कृषि सहकारी संघ, मोरङको सहजिकरणमा सम्पन्न कार्यक्रममा जिल्ला कृषि सहकारी संघ, मोरङका अध्यक्ष रबिन्द्र आचार्यले सभापतित्व ग्रहण गरेका थिए । कार्यक्रममा जिल्ला कृषि सहकारी संघ, किसान नेट, नेपाल कृषि सहकारी केन्द्रीय संघका संचालक तथा प्रदेश कृषि संघका अध्यक्ष खगेन्द्र राज भण्डारी, केन्द्रीय संघका संचालक हरि बहादुर बस्नेत लगाएको उपस्थिति रहेको थियो । शाखा कार्यालयका प्रबन्धक सरोज भट्टराईले कार्यक्रम संचालन तथा सहकारी संस्थाहरुमा देखिएका समस्या र वित्तीय अवस्था प्रस्तुत गरेका थिए ।












