पुँजी बजारमा देखियो बुलः कारोबार ६ महिना यताकै उच्च, नयाँ रेकर्ड राख्ला ?

काठमाडौं । मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षापछि शेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकमा सुधार आउनुका साथै दैनिक कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ । बजारमा नयाँ उत्साह देखिएको छ, जसका कारण ठूला तथा संस्थागत लगानीकर्ताहरू सक्रिय बन्दै गएका छन् । लगातारको वृद्धि प्रवृत्तिलाई हेर्दा बजारमा सकारात्मक लय कायम रहेको आँकलन गर्न सकिन्छ ।
बैंक तथा वित्तीय संस्थाहरूका लागि आवश्यक कर्जासम्बन्धी प्रोभिजन दर घटाइएको व्यवस्थाले शेयर बजारलाई प्रत्यक्ष प्रभाव पारेको छ। असल कर्जाको प्रोभिजन दर १.१० प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारिएको छ, जसले बैंकहरूको नाफा वृद्धि गर्न मद्दत गर्नेछ । वित्तीय संस्थाहरूको मुनाफा बढ्ने अपेक्षाले बैंक शेयर प्रति आकर्षण बढेको देखिन्छ । साथै, बजारमा लामो समयदेखिको गिरावट तथा साइडवेज प्रवृत्तिका कारण विभिन्न कम्पनीका सेयरहरू तुलनात्मक रूपमा सस्ता भएका छन्, जसले लगानीकर्ताहरूलाई थप सक्रिय बनाएको छ ।
ब्याजदर कम हुनु र बैंक प्रणालीमा तरलता वृद्धि हुनुले पनि शेयर बजारलाई टेवा पुर्याएको छ । सस्तो ब्याजदरमा शेयर धितो कर्जा उपलब्ध हुन थालेपछि ठूला लगानीकर्ताहरूको बजार प्रवेश तीव्र देखिएको छ । त्यस्तै, बैंकहरूले मुद्दति निक्षेपमा आकर्षक ब्याजदर दिन नसक्दा म्युचुअल फन्ड, बीमा कम्पनी तथा अन्य संस्थागत लगानीकर्ताहरूले शेयर बजारमै लगानी बढाउन थालेका छन् । यसले बजारको मागलाई बढाउनुका साथै आपूर्ति सन्तुलनमा प्रभाव पारिरहेको छ ।
बजारको सकारात्मक गतिलाई कायम राख्नका लागि लगानीकर्ताहरूले सूचकमा मात्र होइन, कम्पनीहरूको वित्तीय सूचक र आधारभूत पक्षमा ध्यान दिनुपर्ने विश्लेषकहरू बताउँछन् । विशेषगरी, लाभांश वितरण क्षमता बलियो रहेका कम्पनीहरूमा लगानी गर्दा जोखिम न्यूनीकरण हुने र दीर्घकालीन रूपमा राम्रो प्रतिफल प्राप्त गर्न सकिने विश्वास गरिएको छ ।
बजारले देखाएको लयले अब नयाँ रेकर्ड कायम राख्ने विश्वास आम लगानीकर्ताहरुमा रहेको छ । आज कारोबार रकम ६ महिना यताकै उच्च बन्न पुगेको छ । भदौ ११ गते बजारमा १८ अर्बको शेयर कारोबार भएको थियो । जुन आज सो यता कै उच्च कारोबार भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७५.२४ अकंले बढेर २८९०.२८ बिन्दुका कायम भएको छ । आज ३०२ कम्पनीको २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब २५ करोड ४ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन म्युचुअल फण्ड समूह बाहेक अन्य सबै सूचकमा हरियाली देखिएको छ । बजार बैंकिङ समूहको २.५३ प्रतिशत, विकास बैंक समूहको ३.८८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आइतबार १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको घटेको छ । आज ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।












