९ दिनको हरियालीपछि बजारमा करेक्सनः कारोबारमा उछाल,मार्केट माथिनै जाने के छ आधार ?

१९ फाल्गुन २०८१, सोमबार १५:०७

काठमाडौँ । ९ दिनको हरियाली यात्रापछि पुँजी बजारमा करेक्सन देखिएको छ । निरन्तर वृद्धि भएको बजार आज दोहोरो अंकले ओरालो लाग्न पुगेको हो । लगानीकर्ताहरू नाफा बुक गर्ने प्रवृत्तिमा हावी हुँदा बजार केही घट्न पुगेको हो । तथापि, समग्रमा बजार सकारात्मक नै रहेको छ ।

पछिल्लो समय मौद्रिक नीतिको समीक्षा आउनु अघि बजार अलमलमा थियो । तर केन्द्रीय बैंकले आफ्नो अर्धवार्षिक समीक्षा सार्वजनिक गरेपछि बजारमा उत्साहको लहर देखा परेको छ । केन्द्रीय बैंकले गत फागुन १३ गते आफ्नो समीक्षा सार्वजनिक गरेको थियो ।

समीक्षामा, केन्द्रीय बैंकले बैंक वित्तीय संस्थाहरूलाई असल कर्जामा गर्नुपर्ने प्रोभिजनिङलाई १.१० प्रतिशतबाट घटाएर १ प्रतिशतमा झार्ने निर्णय गरेको थियो। यस निर्णयले बैंक वित्तीय संस्थाहरूलाई दुई प्रकारको फाइदा पुर्याउने छ। एक त, बैंकको नाफा बढ्ने र अर्कोतर्फ, लगानी योग्य रकम बढ्ने अनुमान केन्द्रीय बैंकका अधिकारीहरूले गरेका छन्। यो सकारात्मक समाचारले लगानीकर्तालाई उत्साहित बनाएको छ र बैंक वित्तीय संस्थाका शेयरहरूमा लगानीकर्ताको आकर्षण बढेको छ।

बैंक वित्तीय संस्थाका शेयरमा लगानीकर्ताको आकर्षण बढ्नु र त्यसपछि सूचकको वृद्धिमा सहयोग पुर्याउनु बजारको सकारात्मक लहरमा मद्दत पुर्याएको छ। यसका साथै, गभर्नरको आगामी विदा हुने समाचारले पनि लगानीकर्तालाई उत्साहित गरेको छ। गभर्नरको कार्यकाल समाप्ति गर्दै विदा हुने कुराले बजारमा थप उत्साह थपेको विश्लेषण गरिएको छ।

शेयर बजार लामो समयदेखि तल्लो बिन्दुमा रहनु, बैंक वित्तीय संस्थामा पर्याप्त तरलता हुनु र ब्याज दरको कमीले पनि बजारलाई टेवा दिएको छ। साथै, मुलुकको ग्रे लिस्टमा रहेको अवस्थाले अन्य ठाऊंमा लगानीको अवसर खुम्चिने अनुमानले ठुला लगानीकर्ताहरूलाई पुँजी बजारमा लगानी गर्न आकर्षित गरेको छ। यस कारणले बजार बढ्न थालेको विश्लेषण गरिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.६२ अकंले घटेर २८७६.६६ बिन्दुमा कायम भएको छ । आज ३०० कम्पनीको ३ करोड १२ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब २८ करोड ४५ लाख १० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन बैंकिङ समूहको १.३५ प्रतिशत, विकास बैंक समूहको ०.८४ प्रतिशत, फाइनान्स समूहको ०.९३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.८८ प्रतिशत, हाइड्रोपावर समूहको १.२१ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.२४ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज ५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको घटेको छ । आज गार्डियन माइक्रो लाइफको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*