पुँजी बजारमा गार्डियन माइक्रो लाइफको ताण्डव, कारोबार आएदेखि नै सर्किट

काठमाडौँ । कारोबारमा आएदेखि नै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागि रहेको छ । कम्पनीको शेयर माघ २७ गतेदेखि कारोबारका आएको थियो । निरन्तर १५ दिनको सकारात्मक सर्किटपछि कम्पनीको शेयर मूल्य १२५६.४० रुपैयाँ पुगेको हो । आज कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट अर्थात् प्रतिकित्ता ११४.२० रुपैयाँले बढेको हो ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो कारोबार ३०१ रुपैयाँमा भएको थियो। नेपाल स्टक एक्सचेंज (नेप्से) ले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँ ३४ पैसादेखि ३०१ रुपैयाँ २ पैसासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन गरी बाँडफाँट गरेको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरूले लगानी गरेको ५२ लाख ५० हजार कित्ता शेयर, गरी कुल ७५ लाख कित्ता शेयर गत बिहीबार (माघ २४ गते) नेप्सेमा सूचीकृत भएको थियो। यस सूचीकरणसँगै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा उच्च माग र लगानीकर्ताको उत्साह देखिएको छ।












