कृषि विकास बैंकको मोबाईल एपमा ‘एडीबीएल पे’ सुविधा

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकिङ्ग एपमा रकम भुक्तानीका लागि नयाँ सुविधा “एडीबीएल पे” फण्ड ट्रान्सफर सञ्चालनमा ल्याएको छ।
बैंकले समयसमयमा ग्राहकको माग र आवश्यकतालाई सम्बोधन गरेर विभिन्न सेवाहरू बैंकको “एडीबीएल स्मार्ट प्लस” मोबाईल बैंकिङ्ग एप मार्फत् प्रदान गर्दै आइरहेको जनाएको छ।
यसैक्रममा बैंकले नेपाल पेमेन्ट सोलुसन्ससित सहकार्य गरेर “फण्ड ट्रान्सफर” तथा “वालेट लोड” सुविधा सञ्चालनमा ल्याएको छ। जसबाट बैंकको मोबाईल बैंकिङ्ग एप मार्फत् ग्राहकहरूले सुरक्षित र भरपर्दाे रूपमा रकम ट्रान्सफर गर्न सक्ने बताएको छ।
यस्तो सुविधाबाट बैंक खाता र वालेटहरूबीच हुने डिजिटल रकम ट्रान्सफर कारोबार छिटो, सहज, सुरक्षित र झन्झटमुक्त हुने बैंकले जानकारी दिएको छ। रकम ट्रान्सफरका लागि दुई तरीका प्रयोग गर्न सकिनेमा पहिलो रकम प्राप्तकर्ताको बैंक खातासँग जडान भएको मोबाईल नम्बर प्रयोग गरेर र दोस्रोमा रकम प्राप्तकर्ताको बैंकको नाम र खाता विवरण प्रविष्ट गरेर सजिलै रकम पठाउन सक्ने बैंकले जनाएको छ।
“एडीबीएल पे” बाट रकम ट्रान्सफर गर्दा सजिलै झन्झटमुक्त तरीकाले गर्न सकिने, न्यूनतम शुल्कमा रकम ट्रान्सफर हुने, द्रुत र निर्वाध रूपमा रकम ट्रान्सफर हुने, तुरुन्तै कारोबार हुने र ग्राहकमैत्री सहज सञ्चालन गर्न सकिने बैंकले जानकारी दिएको छ।












