पुँजी बजारमा सकारात्मक माहोल, के अब करेक्सन सकिएको हो ?

२४ फाल्गुन २०८१, शनिबार १७:५०

काठमाडौं । यो साता पुँजी बजारका लगानीकर्ताहरुका लागि निराश रह्यो । निरन्तर ९ दिन बढेको बजारमा यस साता भने करेक्सन देखा परेको छ । यस साता आइतबार उच्च अकंले बढेपनि अन्य चार कारोबारको दिन भने ओरालो लाग्न पुग्यो । जसले गर्दा छोटो अवधिमा नाफा लिने लगानीकर्ताहरुले मुनाफा सुरक्षित गर्न खोज्दा बजारमा केही दबाब देखिएको हो ।

नेप्से परिसूचक साताभर ३.३९ अंकले मात्र वृद्धि भएको छ । गत साता ७१.३० अंकले उकालो लागेको नेप्से यस साता ०.१२ प्रतिशतले मात्र बढ्न सक्यो । उच्चतम २९२९.२१ अंकसम्म पुगेको बजार अन्ततः २८१८.४३ को बिन्दुमा आएर बन्द भएको छ ।

यस साताको कुल कारोबार रकम ६२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । गत भदौ महिनामा अन्तिम पटक २८३०.१६ अंकमा पुगेको नेप्से झन्डै छ महिनापछि फेरि २८०० माथि पुगेको थियो । तर यस साता करेक्सन देखिएपछि लगानीकर्ताहरु पुनः बजारको भावी दिशाबारे विश्लेषण गरिरहेका छन् । लगातार चार दिन गिरावट आएपछि बजारमा सेलिङ प्रेसर अर्थात् बिक्री चाप केही कम हुँदै गएको देखिएको छ । विश्लेषकहरुले बजारमा देखिएको गिरावटलाई सामान्य करेक्सनका रूपमा लिएका छन् । उनीहरुका अनुसार पछिल्लो समय छोटो अवधिमा राम्रो नाफा भएकाले धेरै लगानीकर्ताहरुले मुनाफा बुक गर्न खोज्दा बजारमा सामान्य गिरावट आएको हो ।

विश्लेषकहरु भन्छन्, ‘बजारमा प्राकृतिक रूपमा हुने उतारचढाव नै अहिले देखिएको हो । कुनै बाह्य वा अस्वाभाविक कारणले बजार घटेको होइन ।’

बजारमा लगानी गर्ने व्यक्तिहरु प्राविधिक विश्लेषणका आधारमा समेत अघि बढ्छन् । पछिल्लो समय बजार ती विन्दुहरुमा पुगेको थियो, जसले ग्याप फिल गर्न आवश्यक थियो । यी बिन्दुहरुको परीक्षण पछि मात्र बजार पुनः उकालो लाग्ने अनुमान गरिएको छ ।

यही कारणले सर्वसाधारण लगानीकर्ताहरु पर्ख र हेरको स्थितिमा देखिएका छन् । अब करेक्सनको चक्र सकिएपछि बजार फेरि उकालो लाग्ने विश्लेषण गरिंदैछ । लगानीकर्ताहरुको अनुभव अनुसार कुनै पनि बजार नयाँ उचाइमा पुग्नुअघि करेक्सन हुनु आवश्यक हुन्छ । जसले गर्दा बजार दीर्घकालसम्म सस्टेनेबल रहन सक्छ ।

संस्थागत लगानीकर्ताहरुले कर्जा लिएर बजारमा प्रवेश गरेको तथ्यांकले देखाएको छ । यसले बजारलाई अझ अगाडि बढ्न मद्दत गर्ने विश्वास गरिएको छ । बजार उकालो लाग्ने अपेक्षा गरिए पनि लगानीकर्ताले सुरक्षित कम्पनी छनोट गर्नुपर्ने आवश्यकता छ । विश्लेषकहरुका अनुसार वित्तीय अवस्था बलियो भएका, लाभांश दिने क्षमता राम्रो भएका र बजारमा स्थिरता कायम गर्न सक्ने कम्पनीहरुमा लगानी गर्दा जोखिम कम हुने बताइन्छ । विशेष गरी बैंक, बीमा, जलविद्युत् र उत्पादनमूलक कम्पनीहरु सुरक्षित लगानीका लागि राम्रो विकल्प हुन सक्छन् ।

शेयर बजारमा देखिएको करेक्सनले छोटो अवधिका लागि केही लगानीकर्तालाई निराश बनाए पनि दीर्घकालीन रुपमा बजार अझ बलियो भएर अघि बढ्ने संकेत देखिएको छ । नाफा बुक गर्ने प्रवृत्तिले बजार केही दिन दबाबमा रहे पनि अब पुनः उकालो लाग्ने विश्लेषकहरु बताउँछन् ।

ब्याजदरको न्यून अवस्था, प्रणालीमा तरलताको पर्याप्तता, नयाँ लगानीकर्ताको प्रवेश तथा सकारात्मक मनोविज्ञानले बजारलाई निकट भविष्यमा नयाँ उचाइमा लैजाने सम्भावना रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*