बैंकिङ कर्जा प्रवाहमा सुधार, निजी क्षेत्रतर्फ लगानी बढ्दै

२६ फाल्गुन २०८१, सोमबार १७:३९

काठमाडौँ । पछिल्लो सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा रु.२८३ अर्ब ४६ करोड (५.६ प्रतिशत) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा प्रवाह ४.१ प्रतिशतले मात्र वृद्धि भएको थियो।

वार्षिक बिन्दुगत आधारमा २०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले वृद्धि भएको छ। यसमध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश ६३.८ प्रतिशत रहेको छ भने व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश ३६.२ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यो क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ५.९ प्रतिशतले, विकास बैंकहरूको ३.१ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ५.२ प्रतिशतले वृद्धि भएको छ।

२०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को सुरक्षणमा १४.४ प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६५.१ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः ११.६ प्रतिशत र ६७.६ प्रतिशत थियो।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट विभिन्न क्षेत्रहरूमा प्रवाहित कर्जामा वृद्धि देखिएको छ। औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.५ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.० प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशतले वृद्धि भएको छ।

बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित विभिन्न प्रकारका कर्जामा मिश्रित प्रवृत्ति देखिएको छ। आवधिक कर्जा ३.६ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा २७.८ प्रतिशतले, ट्रस्ट रिसिट (आयात) कर्जा ६९.५ प्रतिशतले, हायर पर्चेज कर्जा ४.५ प्रतिशतले, नगद प्रवाह कर्जा ३.७ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ३.२ प्रतिशतले बढेको छ। तर, अधिविकर्ष कर्जा भने १२.४ प्रतिशतले घटेको छ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाहमा सुधार देखिए पनि केही क्षेत्रमा लगानी घट्दा व्यवसायीहरूमा आशंका बढ्न सक्ने विश्लेषकहरूको भनाइ छ। यसले समग्र आर्थिक चक्रमा कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा अझै पनि स्थायित्वको प्रतीक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*