निक्षेप वृद्धिको गति सुस्त, संस्थागत निक्षेपको अंश घट्दै

२६ फाल्गुन २०८१, सोमबार १७:४६

काठमाडौँ । पछिल्लो सात महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप वृद्धि भए पनि अघिल्लो वर्षको तुलनामा वृद्धि दर सुस्त देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप रु.२४५ अर्ब ३४ करोड (३.८ प्रतिशत) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धिदर ७.० प्रतिशत रहेको थियो, जसअनुसार त्यति बेला रु.३९७ अर्ब २० करोड निक्षेप वृद्धि भएको थियो।

२०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप वार्षिक आधारमा ९.७ प्रतिशतले वृद्धि भएको छ। निक्षेप वृद्धिको गति गत वर्षको तुलनामा केही कमजोर भए पनि कुल निक्षेपमा विभिन्न खाता प्रकारहरूको संरचना परिवर्तन भएको देखिन्छ।

२०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती खाताको अंश ५.२ प्रतिशत, बचत खाताको अंश ३४.८ प्रतिशत र मुद्दती निक्षेपको अंश ५२.४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.२ प्रतिशत, २७.४ प्रतिशत र ५९.८ प्रतिशत रहेको थियो।

२०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.३ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३६.४ प्रतिशत थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*