साढे १२ खर्ब शेयर कारोबारः हाइड्रो र फाइनान्स अग्र, बैंक सुस्त हुँदा बीमा सेक्टरको अवस्था कस्तो?

२७ फाल्गुन २०८१, मंगलवार ११:५३

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ७ महिना (साउनदेखि माघ) सम्ममा साढे १२ खर्बको शेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा १२ खर्ब ६७ अर्ब ७६ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

उक्त कारोबार गत आर्थिक वर्ष २०८०।०८१ को सोहि अवधिको तुलनामा २५८.०२ प्रतिशतले बढी हो । गत आवको माघ समान्तसम्ममा ३ खर्ब ५४ अर्ब ९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

यसअवधिमा सर्वाधिक शेयर कारोबार हुने समूहमा हाईड्रोपावर पहिलो नम्बरमा रहेको छ । पछिल्लो समय लगानीकर्ताहरु हाइड्रो सेक्टरबाट नाफा कमाइरहेका छन् । अल्पकालिन लगानीकर्ताहरु यस सेक्टरमा झुम्मिए हुँदा सर्वाधिक कारोबार हुन पुगेको छ । चालु आवको ७ महिनामा हाइड्रोपावर समूहको ४ खर्ब ३३ अर्ब ८८ करोड रुपैयाँको शेयर कारोबार भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३२४ प्रतिशतले बढी हो ।

सर्वाधिक कारोबार हुने दोस्रो नम्बरमा फाइनान्स समूह रहेको छ । केहि सीमित ठुला लगानीकर्ता लो क्यापमा झुम्मिदा फाइनान्स सेक्टरको कारोबारमा उछाल आएको हो । फाइनान्स समूहको १ खर्ब ४२ अर्ब ७२ करोड रुपैयाँको शेयर कारोबार भएको छ । जुन गत आवको सोही अवधिसम्मको तुलनामा १००४ प्रतिशत बढी हो । गत आवको सोहि अवधिसम्म फाइनान्स समूहको १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।

शेयर बजारमा ठुलो हिस्सा रहेको वाणिज्य बैंक सर्वाधिक कारोबार हुने तेस्रो नम्बरमा रहेको छ । वाणिज्य बैंकको शेयर कारोबार २१३ प्रतिशतले बढेर १ खर्ब ३२ अर्ब १३ करोड ३९ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंक समूहको ४२ अर्ब १९ करोड ७७ लाख रुपैयाँको कारोबार भएको थियो । तर, वित्तीय रुपमा अन्य सेक्टर भन्दा बलियो रहेको वाणिज्य बैंक समूहको शेयर मूल्य भने सुस्त नै छ । पछिल्लो समय यस सेक्टरमा लगानीकर्ता आकर्षक कम भएको देखिन्छ ।

चालु आर्थिक वर्षको ७ महिनामा विकास बैंक समूहको १ खर्ब १ अर्ब ४ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । उक्त कारोबार गत आर्थिक वर्षको तुलनामा ४३७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंक समूहको १८ अर्ब ८१ करोड १३ लाख रुपैयाँको शेयर खरिदबिक्री भइरहेको छ ।

कुनै समय शेयर बजारमा तहल्का पिट्ने माइक्रो फाइनान्स सेक्टर भने सुस्त रहेको छ । बजारमा चलि रहेको लघुवित्त सम्बन्धी आन्दोलनले नाफासहितका वित्तीय सूचकमा धक्का लागि रहेको छ । नियामक निकाय राष्ट्र बैंकको बलियो साथ पाउदा लयमा फर्कि रहेको सो सेक्टरमा बजारमा चलेका नकारात्मक हल्लाले यो समूहमा लगानीकर्ताको आँखा गइरहेको छैन । यसअवधिमा लघुवित्त समूहको ८९ अर्ब १२ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जुन गत आवको सोहि अवधिको तुलनामा भने ४१२ प्रतिशतले बढी हो ।

यता, इन्भेष्टमेन्ट समूहको ८५ अर्ब ६९ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । उक्त कारोबार गत आवको तुलनामा २९० प्रतिशतले बढेको छ ।

यता, बीमा सेक्टर वित्तीय रुपमा बलियो र लाभांशको हिसाबमा सक्षम छन् । पछिल्लो ७ महिनामा जीवन बीमा समूहको शेयर कारोबार ८२ प्रतिशतले बढेर ६७ अर्ब १० करोड र निर्जीवन बीमा समूहको १२१ प्रतिशतले बढेर ५३ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।

साथै, अन्य समूहको ५९ अर्ब ७४ करोड, उत्पादन तथा प्रशोधन समूहको ५१ अर्ब ९१ करोड, होटल तथा पर्यटन समूहको २५ अर्ब ७७ करोड, प्रमोटर शेयरको १५ अर्ब ९ करोड, व्यापार समूहको ४ अर्ब ५१ करोड, म्युचुअल फण्ड समूहको ३ अर्ब ३७ करोड र डिबेञ्चर समूहको २ अर्ब १९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*