लगातार सातौ दिन समेत राताम्य बजारः परिसूचक खुम्चियो, किन लय लिन सकेन मार्केट ?

काठमाडौँ । लगातार सात दिनदेखि शेयर बजार ओरालो लाग्दा लगानीकर्ताहरू अन्योलमा परेका छन् । पछिल्ला केही दिनयता सुधारको संकेत देखिए पनि बजार पुनः दबाबमा गएको हो । विश्लेषकहरूका अनुसार गत बिहीबारदेखि बजार केही सम्हालिने संकेतमा थियो, तर आइतबार एकाएक ठूलो गिरावट आएपछि लगानीकर्ताहरू झन् सशंकित बनेका छन् । साताको मंगलबार पनि बजार निरन्तर घट्न पुगेको छ, जसको प्रमुख कारण पछिल्ला राजनीतिक घटनाक्रमहरूलाई मानिएको छ ।
विश्लेषकहरूका अनुसार आइतबार राजाको शक्ति प्रदर्शनपछि मुलुकको राजनीति तरंगित बन्न पुगेको थियो, जसले सेयर बजारमा पनि छोटो अवधिको असर देखिएको हो । बजार पहिल्यै करेक्सन फेजमा रहेकाले गिरावट स्वाभाविक मानिए पनि पछिल्लो राजनीतिक घटनाले लगानीकर्ताहरूको मनोबल थप कमजोर बनाएको छ । तर दीर्घकालीन रूपमा अर्थतन्त्रमा कुनै ठूलो असर नपर्ने भएकाले बजार छिट्टै सुधार हुने विश्वास गरिएको छ । प्राविधिक विश्लेषकहरूका अनुसार बजारको करेक्सन चरण अन्त्य हुन लागेकाले अब विस्तारै सुधारको संकेत देखिन सक्नेछ ।
समग्रमा, बजार अझै बुलिस ट्रेन्डमै रहेको विश्लेषण गरिएको छ । बैंक ब्याजदर न्यून रहेको, तरलता पर्याप्त रहेको र सरकार तथा नियामक निकायहरू सकारात्मक देखिएकाले बजार पुनः उकालो लाग्ने सम्भावना रहेको छ । यस्तै, ठूला लगानीकर्ताहरूले कर्जा लिएर समेत बजारमा प्रवेश गरिरहेका छन्, जसले समग्र बजार वृद्धिलाई बल पुर्याउने आँकलन गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.२१ अकंले घटेर २७१९.२० बिन्दुमा कायम भएको छ । आज ३०३ कम्पनीको १ करोड ५५ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३९ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
अन्य सबै उपसूचक राताम्य हुँदा विकास बैंक बढेको छ । यसदिन विकास बैंकको शेयर मूल्य १.९३ प्रतिशतले बढेको हो ।

आज २०९ कम्पनीको शेयर मूल्य घटेको छ भने ३२ कम्पनीको घटेको छ।












