पुँजी बजारबाट सरकारलाई मनग्य आम्दानी: ८ महिनामा कमायो १२ अर्ब, कुन महिनामा कति?

काठमाडौं । पुँजी बजार कारोबारबाट सरकारले प्राप्त गर्ने पुँजीगत लाभकरमा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्ममा शेयर बजारबाट सरकारले १२ अर्ब भन्दा बढी राजस्व प्राप्त गरेको हो ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) बाट प्राप्त चालु आर्थिक वर्षको ८ महिनासम्ममा सरकारले १२ अर्ब २० करोड ८८ लाख ३७ हजार रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३.७९ प्रतिशत धेरै हो । गत आवको ८ महिनामा सरकारले यस्तो राजश्व ३ अर्ब ३० करोड ६८ लाख ५८ हजार रुपैयाँ मात्रै प्राप्त गरेको थियो ।
शेयर बजारमा निरन्तर आइरहेको उतार चढाबबीच राज्यलाई प्राप्त राजस्वमा भने सुधार देखिएको हो । शेयर बजारमा कारोबार रकम बढ्दा राज्यले बढी पुँजीगत लाभकर पाउने गर्छ । नेपालमा धितोपत्रको कारोबारबाट प्राप्त हुने पुँजीगत लाभमा कर लाग्ने प्रचलन २०५८ साल साउन १ गतेदेखि सुरु भएको हो । आयकर ऐन २०५८ को दफा ८९ (क) अनुसार सूचीकृत कम्पनीहरूको धितोपत्र कारोबारमा सरकारले २०५८ साउन १ गतेअघि खरिद गर्ने खरिदकर्ताले उक्त मितिको अन्तिम मूल्यलाई खरिद मूल्य मानेर आफ्नो लगानी विक्रीबाट प्राप्त लाभमा अग्रिम पुँजीगत लाभकर कट्टा गर्ने व्यवस्था गरेको थियो ।
हाल शेयर बजारबाट एक वर्ष वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले राज्यलाई ७.५ प्रतिशत र एक वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको शेयरमा आएको नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।
पुँजी बजारबाट फागुन महिनामा मात्रै सरकारले १ अर्ब ३३ करोड २ लाख ३७ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ। सो अवधिमा अल्पकालीन लगानीकर्ताबाट ८१ करोड ४२ लाख १४ हजार रुपैयाँ, दीर्घकालीन लगानीकर्ताबाट २६ करोड ३८ लाख ६ हजार रुपैयाँ, कर्पोरेट क्षेत्रबाट १४ करोड ९७ लाख ६४ हजार रुपैयाँ तथा स्टक डिलरमार्फत २४ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
सीडीएससीका अनुसार यसअघि माघ महिनामा १ अर्ब ५ करोड ७० लाख ८८ हजार रुपैयाँ संकलन भएको थियो। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सबैभन्दा धेरै ४ अर्ब २७ करोड ५३ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो, जुन वार्षिक रूपमा उच्च अंक हो ।

पछिल्ला केही महिनाको तथ्यांक हेर्दा भदौमा २ अर्ब ५७ करोड ९४ लाख ८० हजार, असोजमा ५८ करोड ६५ लाख, कात्तिकमा ७५ करोड ८७ लाख, मंसिरमा १ अर्ब ४ करोड ६ लाख र पुसमा ५८ करोड ७ लाख रुपैयाँ संकलन भएको देखिन्छ । पछिल्लो समय बजारमा उतारचढाव भए पनि सरकारको राजस्व संकलन दर निरन्तर कायम रहेको छ।












