२०८२ सालका लागि बैंक बिदा र कार्यालय समय निर्धारण, दसैँ-तिहारसहित ४८ दिन बैंक बन्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी वित्तीय वर्ष २०८२ का लागि बैंक तथा वित्तीय संस्थाहरूको बिदा तालिका सार्वजनिक गरेको छ। यो वर्ष बैंकहरू ४८ दिन बन्द रहनेछन्, जसमा दसैँ, तिहार, नयाँ वर्षलगायत प्रमुख चाडपर्वको बिदा समावेश छ।
नयाँ वर्ष (वैशाख १), विश्व मजदुर दिवस (वैशाख १८), बुद्ध जयन्ती, गणतन्त्र दिवस, इन्द्र जात्रा, भोटो जात्रा, गाई जात्रा, घोडेजात्रालगायत विशेष दिनहरूमा बैंकहरू बन्द रहनेछन्। दसैँमा असोज ६ गते घटस्थापनादेखि असोज १८ गते द्वादशीसम्म, तथा तिहारमा कात्तिक ३ गते लक्ष्मी पूजादेखि कात्तिक ७ गते भाइटीकासम्म बैंकहरू बन्द हुनेछन्।
साप्ताहिक बिदाको रूपमा शनिबार पूर्ण बिदा रहनेछ भने प्रत्येक शुक्रबार बैंक तथा वित्तीय संस्थाहरू दिउँसो १२ः३० बजे सम्म मात्र सञ्चालन हुनेछन्।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको कार्यालय समय पनि निर्धारण गरेको छ। वैशाख १ देखि कात्तिक १५ र माघ १६ देखि चैत मसान्त सम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म कायम गरिएको छ। कात्तिक १६ देखि माघ १५ सम्म भने कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्र हुनेछ।
बैंकिङ समयको हकमा वैशाख १ देखि कात्तिक १५ र माघ १६ देखि चैत मसान्त सम्म बैंकहरू बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुल्नेछन्। कात्तिक १६ देखि माघ १५ सम्म बैंकिङ समय एक घण्टा घटेर बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मात्र सीमित हुनेछ।
राष्ट्र बैंकले तोकेको नयाँ कार्यतालिका अनुसार शुक्रबार बैंकिङ समय बिहान १० बजे देखि १२ः३० बजे सम्म मात्र रहनेछ। साथै, प्रदेश सरकारहरूले आ-आफ्ना प्रदेशमा थप ६ दिनसम्म सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन सक्नेछन्।














