राष्ट्र बैंकद्वारा बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ निक्षेप संकलन

काठमाडौँ। बैंकिङ प्रणालीमा थप तरलता संकलन गर्न नेपाल राष्ट्र बैंकले आज चैत ६ गते पुनः २५ अर्ब रुपैयाँ तान्ने भएको छ। यसका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै दिउँसो ३ बजे बोलकबोल गर्ने तयारी गरेको छ।
राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणा हुने गरी बोलकबोल गर्न सक्नेछन्। बोलकबोल बहुब्याजदरमा समेत गर्न सकिने व्यवस्था गरिएको छ।
यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। संकलित निक्षेप २१ दिनका लागि रहनेछ भने यसको साँवा तथा ब्याज भुक्तानी चैत २७ गते गरिने राष्ट्र बैंकले जनाएको छ।
बैंकिङ प्रणालीमा तरलता अत्यधिक बढेपछि राष्ट्र बैंकले नियमित रूपमा पैसा संकलन गर्दै आएको छ। कर्जाको माग नबढेका कारण बैंक तथा वित्तीय संस्थाहरू न्यून ब्याजदरमै राष्ट्र बैंकलाई रकम उपलब्ध गराउन बाध्य भएका छन्।












