विद्युत आपूर्तिमा समस्या आएपछि सिडिएससीका सम्पूर्ण सेवा बन्द
५ बैशाख २०८२, शुक्रबार १०:३४

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले आफ्नो सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गर्ने जानकारी दिएको छ। सीडीएससीले सेवा सञ्चालनका लागि प्रयोग हुँदै आएको प्राइमरी डेटा सेन्टरको विद्युत आपूर्तिमा समस्या देखिएपछि सेवा अवरुद्ध गर्नुपरेको जनाएको हो।
सीडीएससीद्वारा जारी सूचनामा उल्लेख गरिएअनुसार, डेटा सेन्टरको विद्युत आपूर्तिमा समस्या देखिएपछि सम्बन्धित निकायबाट सो डाटा सेन्टरमा होस्ट गरिएका सम्पूर्ण प्रणाली बन्द गर्न निर्देशन प्राप्त भएको छ।
“विद्युत आपूर्तिको समस्या समाधान नभएसम्म सम्पूर्ण सेवा स्थगित रहने जानकारी गराउँदै सेवाग्राहीहरूलाई असहज परिस्थिति प्रति क्षमायाचना गर्दछौं,” सीडीएससीले जनाएको छ।













