एनएमबि बैंकको वित्तीय विवरणमा प्रगति, अधिकांश सूचकसँगै बढ्यो प्रतिशेयर आम्दानी

७ बैशाख २०८२, आईतवार ०७:४३

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालू आर्थिक वर्षका तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार यस वर्षको चैत मसान्तसम्म बैंकले २ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ।

गत वर्षको यसै अवधिसम्म बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा गरेको थियो यसरी चालू आवमा बैंकको खुद नाफा झण्डै ६ प्रतिशतले वृद्धि भएको हो। बैंकको खुद ब्याज आम्दानीसँगै सञ्चालन नाफा पनि बढेकाले खुद नाफा बढ्न मद्दत पुगेको हो।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर झण्डै साढे ६ अर्ब रुपैयाँ पुगेको छ। यस्तै बैंकको कुल सञ्चालन आम्दानी पनि ७ अर्ब २० करोड रुपैयाँबाट बढेर ८ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि ३ अर्ब २१ करोड रुपैयाँबाट बढेर साढे ३ अर्ब रुपैयाँ नाघेको छ।

यसँगै गत वर्ष ऋणात्मक रहेको वितरणयोग्य नाफा यस वर्ष भने १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा भने २.८६ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ।

बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ३१ करोड रुपैयाँ र रिजर्भ कोषमा ११ अर्ब ८९ करोड रुपैयाँ सञ्चिति रहेको छ।

नाफामा वृद्धि भएसँगै बैंकको प्रतिशेयर आम्दानी समेत वृद्धि भएको छ। बैंकको प्रतिशेयर आम्दानी गत वर्ष १६ रुपैयाँ २७ पैसा रहेकोमा चालू आवमा बढेर १७ रुपैयाँ २३ पैसा पुगको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*