म्युचुअल फण्डको खस्किँदो वित्तीय अवस्थाः ४३ वटै फण्डको नाफामा गिरावट, बजार लगानी समेत घट्दो

काठमाण्डौ । नेपाली पुँजी बजारमा लगानीकर्ताबीच लोकप्रिय मानिने सामूहिक लगानी कोष (म्युचुअल फन्ड)हरूले पछिल्लो समय कमजोर वित्तीय प्रदर्शन देखाएका छन्। हालै सार्वजनिक भएका चैत महिनाको विवरणहरूले समग्र रूपमा फन्डहरूको प्रतिफल, सेयर बजारमा लगानी तथा न्याभ (प्रतिइकाई खुद सम्पत्ति मूल्य) मा गिरावट देखाएको छ।
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ४३ वटा म्युचुअल फन्डहरूमध्ये अधिकांशले चैतमा सन्तोषजनक वित्तीय स्थिति कायम गर्न सकेनन्। सेयर बजारमा निरन्तर देखिएको उतारचढावले लगानीकर्ताको मनोबलमा नकारात्मक असर पार्दै फन्डहरूको आमदानीमा ठुलो गिरावट ल्याएको देखिन्छ।
नाफा : चैतमा २७ प्रतिशतभन्दा बढीले घट्यो
गत फागुन महिनाको तुलनामा चैतमा म्युचुअल फन्डहरूको नाफा औसत २७.५५ प्रतिशतले घटेको छ। फागुनमा ४ अर्ब ७० करोड रुपैयाँभन्दा बढी नाफा कमाएका फन्डहरूले चैतमा केवल ३ अर्ब ४० करोड रुपैयाँ नाफा कमाए।
चैतमा पाँच वटा फन्ड नोक्सानीमा गएका छन्। तीमध्ये एनआइबिएल समृद्धि फन्ड–२ ले सबैभन्दा बढी १९ करोड रुपैयाँभन्दा बढी घाटा व्यहोरेको छ। त्यस्तै, मेगा म्युचुअल फन्ड–१, एनआइबिएल स्टेबल फन्ड, गरिमा समृद्धि योजना, र कुमारी सबल योजना घाटामा रहेका फन्ड हुन्।
उता, सर्वाधिक नाफा कमाउने फन्डको सूचीमा प्रभू सेलेक्ट फन्ड अगाडि देखिएको छ, जसले एक महिनामै २२ करोड रुपैयाँ नाफा कमाएको छ। सिद्धार्थ इक्विटी फन्डले पनि २० करोड रुपैयाँभन्दा बढी नाफा कमाउँदै दोस्रो स्थानमा रहन सफल भयो।

लगानी : ३ अर्ब ८८ करोड रुपैयाँको कटौती
सेयर बजारमा म्युचुअल फन्डहरूको लगानी पनि घटेको छ। फागुनमा कुल ४२ अर्ब २७ करोड रुपैयाँ लगानी रहेकोमा चैतमा यो घटेर ३८ अर्ब ३९ करोड रुपैयाँमा झरेको छ। यसरी लगानी करिब ९.१८ प्रतिशतले घटेको हो।
सेयर बजारमा सबैभन्दा बढी लगानी एनएमबि सरल बचत फन्ड ई को रहेको छ, जसको चैतमा २ अर्ब ६६ करोड रुपैयाँ लगानी देखिएको छ। यो अघिल्लो महिनाको तुलनामा ६.६५ प्रतिशतले वृद्धि हो।
सिद्धार्थ इक्विटी फन्ड, प्रभू सेलेक्ट फन्ड, सनराइज ब्लुचिप फन्ड, एनएमबि सुलभ फन्ड दोस्रो, एनआइबिएल समृद्धि फन्ड २ लगायत १७ वटा फन्डको सेयर बजारमा लगानी एक अर्ब रुपैयाँभन्दा माथि रहेको छ।
त्यसो त केही फन्डहरूले भने सेयर लगानीमा कटौती गरेका छन्। जस्तैः एनआइबिएल सहभागिता फन्ड, एनआइसी एशिया ब्यालेन्सड फन्ड, डायनामिक फन्ड, ग्रोथ फन्ड २ लगायतका फन्डहरूको सेयर बजारमा लगानी घटेको छ।

न्याभ : औसत ०.२६ रुपैयाँले घट्यो
चैत महिनामा फन्डहरूको न्याभ पनि घटेको देखिन्छ। सबै फन्डको औसत न्याभ ०.२६ रुपैयाँले घटेर १०.६२ रुपैयाँमा सीमित भएको छ। फन्डहरूको न्याभ घट्नुले लगानीकर्ताको प्रतिफलमा नकारात्मक असर पार्छ।
हिमालयन ८०–२० फन्ड सबैभन्दा उच्च न्याभ रहेको फन्ड हो, जसको न्याभ १२.४६ रुपैयाँ छ। यसपछि प्रभू स्मार्ट फन्डको न्याभ १२.३८ रुपैयाँ, प्रभू सेलेक्ट फन्ड र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड सेकेन्ड दुवैको न्याभ १२.२७ रुपैयाँ रहेको छ।
१८ वटा फन्डको न्याभ ११ रुपैयाँभन्दा माथि छ भने १६ वटा फन्डको न्याभ १० रुपैयाँभन्दा बढी देखिएको छ। दुई वटा फन्डको न्याभ भने १० रुपैयाँभन्दा तल झरेको छ, जुन चिन्ताजनक संकेत हो।














