१५ दिने सूचनामार्फत गभर्नर नियुक्त गर्नेबारे छलफलमा सरकार

काठमाडौं । यसअघिका बर्षहरुमा अर्थमन्त्रीले तीन जनाको नाम सोझै मन्त्रिपरिषदमा सिफारिस गरेर हुँदै आएको गभर्नर नियुक्ती प्रक्रिया यस पटक भने १५ दिने सुचना जारी गरी योग्य आवेदकहरुलाई आवेदन भर्न लगाई प्रक्रियामार्फत गर्नेबारेमा सरकारले छलफल अघि बढाएको छ ।
सरकारले सिधै नियुक्त गर्दै आएको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती निकै पेचिलो बन्दै गएको छ । अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरुको नियुक्ती तथा मनोनयन सम्बन्धी मापदण्ड २०७४ बमोजिम नभए गैर कानुनी हुने बारे बीमापोष्टले समाचार प्रकाशित गरेको थियो । सो घटना लगत्तै तरंगित बनेको गभर्नर नियुक्ती प्रक्रियामा व्यापारीहरुको तर्फबाट हुने सेटिङमा साथ दिन निवर्तमान गभर्नर महाप्रसाद अधिकारी पुगेका छन् ।
सरकारले सिधैं गभर्नर नियुक्ती गर्न खोजेपछि यसअघिका पूर्व गभर्नर बिजयनाथ भट्टराईले आफू विवादमा पर्ने संकेत देखेपछि छनौट समितिबाट राजिनामा दिइसकेका छन् । भट्टराईपछि गभर्नर नियुक्तीमा एमालेभित्र एम अधिकारी भनेर चिनिएका महाप्रसाद अधिकारीको इन्ट्री भएको हो । महाप्रसादले नयाँ गभर्नर नियुक्त गरेपछि राजदूत वा कुनै संवैधानिक नियुक्ती पाउने सम्भावना रहेको बताइन्छ ।
गभर्नर नियुक्ती प्रक्रिया धेरै विवादमा परेको र सर्वोच्च अदालतमा समेत नियुक्ती सम्बन्धी मापदण्डको बिषयलाई लिएर मुद्दा परेर बिचाराधिन अवस्थामा रहेकोले पनि अर्थमन्त्रालयले निर्धारण गरेको मापदण्ड बमोजिम नै हुने गरी १५ दिने सूचना मार्फत आवेदन माग गरी प्रक्रिया पुरा गरी गभर्नर नियुक्त गर्ने बारे छलफल चलाएको हो ।
स्रोतका अनुसार आज सो सम्बन्धमा भैसेपाटीस्थित पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको छिमेकीको घरमा छलफल भएको विश्वस्त स्रोतले जनाएको छ । चौतर्फी विवादमा परेको र मुद्दा प्रक्रियामा समेत भएकोले आवश्यक प्रक्रिया पुरा गरी १५ दिने सू्चनामार्फत नै गभर्नर नियुक्ती गर्ने सम्बन्धमा छलफल अघि बढेको हो । यद्यपि सरकारमाथि फास्ट ट्रयाकबाट नेपाल राष्ट्र बैंकका पूर्व क्याडरलाई गभर्नर नियुक्ती गर्न चर्को दवाव परिरहेको छ ।
सत्ता गठबन्धनका बीचमा झगडा परिरहेको सन्दर्भमा गभर्नर नियुक्ती महिना दिन पर पुगेपछि प्रतिस्पर्धामा रहेकाहरुलाई थप चुनौति बढ्ने देखिएको छ ।
गभर्नर नियुक्तीमा १५ दिने सूचनामार्फत आवश्यक प्रक्रिया पुराएर पारदर्शी रुपमा नयाँ गभर्नर नियुक्त गर्न लागेको सम्बन्धमा भए गरेको तयारीबारे जिज्ञाशा राख्दा छनौट समितिका सदस्य अधिकारीले केही बताउन चाहेनन् ।













