राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ उठाउँदै

२१ बैशाख २०८२, आईतवार १०:४६

काठमाडौँ । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले आज आइतबार (वैशाख २१ गते) ५० अर्ब रुपैयाँसम्मको निक्षेप संकलन गर्न लागेको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार उक्त निक्षेप संकलन २१ दिनको अवधिका लागि रहनेछ। सो रकम निक्षेप संकलन बोलकबोल उपकरणमार्फत उठाइनेछ, जसमा “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले मात्र भाग लिन सक्नेछन्।

बोलकबोल प्रणालीमा सहभागी संस्थाहरूले आफूले जम्मा गर्न चाहेको रकम र सोको लागि चाहिने ब्याजदर (दशमलवपछि चार अंकसम्म उल्लेख) पेश गर्नुपर्नेछ। सो आवेदन राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत दिइनुपर्नेछ, र यसको समयसीमा आज अपरान्ह ३ बजेसम्म निर्धारण गरिएको छ। न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम पूर्ण रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ, तर सो रकम ५ करोड रुपैयाँले भाग गर्दा बाँकी नहुने गरी निर्धारण गर्नुपर्नेछ।

निक्षेप संकलन भनेको बैंक तथा वित्तीय संस्थाबाट अस्थायी रूपमा निक्षेप उठाएर तरलता नियन्त्रण गर्ने एक मौद्रिक उपकरण हो। यस विधिमा बोलकबोलको माध्यमबाट न्यून ब्याजदरबाट उच्च ब्याजदरसम्मको क्रमअनुसार रकम बाँडफाँड गरिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*