बजार लगातार चौथो दिन पनि ओरालोः लगानीकर्तामा निराशा चुलियो, किन बढ्न सकेन मार्केट ?

२१ बैशाख २०८२, आईतवार १५:०५

काठमाडौँ । नेप्से सूचक लगातार चौथो दिनसम्म घटेसँगै शेयर बजार फेरि एकपटक ओरालो बाटोमै रहेको पुष्टि भएको छ । बजारको यस्तो स्थितिले लगानीकर्ता निराश र अन्योलमा परेका छन् । ठूला तथा संस्थागत लगानीकर्ताको सक्रियता नदेखिँदा बजारले गति लिन नसकेको विश्लेषण गरिएको छ । पछिल्ला दिनमा केही हाइड्रोपावर कम्पनीको मूल्यमा वृद्धिको प्रयास देखिए पनि त्यो समग्र बजारलाई उठाउन पर्याप्त भएको छैन । सीमित व्यक्ति वा समूहको लगानीका कारण केही कम्पनीको मूल्य बढ्नु बजारको दिगो सुधारको संकेत भने होइन भन्नेमा जानकारहरू सहमत छन् ।

हालको बजार स्थितिमा संस्थागत लगानीकर्ताहरू तथा व्यक्तिगत ठूला लगानीकर्ता ‘वेट एन्ड वाच’को अवस्थामै रहेको ब्रोकरहरू बताउँछन् । सरकार परिवर्तनका अड्कल, आगामी बजेटप्रतिको अनिश्चितता, सडक आन्दोलन र गभर्नर नियुक्तिमा देखिएको अन्योलताले उनीहरूलाई सतर्क बनाएको छ । यस्तै, म्युचुअल फन्ड तथा इन्भेष्टमेन्ट कम्पनीहरूलाई लगानी सीमा तथा विविधीकरणको बाध्यताले पनि बजारमा पूरै सक्रिय हुन रोकिरहेको छ । केही फन्डहरूले भने पछिल्लो समय सेयर बजारमा लगानी बढाएको देखिए पनि त्यो पर्याप्त परिरहेको छैन ।

व्यक्तिगत ठूला लगानीकर्तामाथि तोकिएको १५ करोडको सीमा, साना लगानीकर्ताको सीमित क्रयशक्ति र समग्र बजारको साइडवेज प्रवृत्तिले पनि शेयर कारोबार सुस्त देखिएको हो । बजार २५ सयदेखि २८ सय अंकबीच कैयौं महिना घुमिरहेकाले लगानीकर्ता अलमलमा परेका छन् । विशेषज्ञहरूका अनुसार जबसम्म मिड क्याप र हाइ क्याप कम्पनीहरूमा फन्डामेन्टल आधारमा सकारात्मक चहलपहल सुरु हुँदैन, तबसम्म समग्र बजारले गति लिन सक्दैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.१८ अकंले घटेर २६२२.६५ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २४ करोडको शेयर कारोबार भएको हो ।

यसदिन ८ उपसूचक राताम्य भएका छन् । आज सर्वाधिक फाइनान्स समूहको शेयर १.३५ प्रतिशतले घटेको छ ।

आइतबार ११७ कम्पनीको शेयर मूल्य बढ्दा १२८ कम्पनीको घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*