निरन्तर पुँजी बजार सुस्तः कारोबार रकम खुम्चियो, किन डराइरहेका छन् लगानीकर्ता ?

काठमाडौँ । शेयर बजार लगातार पाँच दिनसम्म ओरालो लागेपछि लगानीकर्ता अन्योलमा परेका छन् । पछिल्ला दिनहरूमा कारोबारको अधिकांश समय सूचक बढेको देखिए पनि बजार बन्द हुने अन्तिम घडीमा घट्ने प्रवृत्ति दोहोरिएको छ । यसले बजार अझै साइडवेज चरणमै रहेको संकेत गरेको छ । बजार विश्लेषकहरूका अनुसार ठूला तथा संस्थागत लगानीकर्ताहरूले तत्काल निर्णय नलिएर ‘पर्ख र हेर’को रणनीति अपनाएकाले सूचक स्थिर बनेको हो ।
गभर्नर नियुक्तिको अनिश्चितता र नीतिगत अस्पष्टताले पनि उनीहरूलाई थप सतर्क बनाएको देखिन्छ। नेप्से सूचक सुस्त भए पनि पछिल्ला दिनमा दैनिक कारोबार रकम औसतमा ८ अर्बमाथि पुगेको छ, जसलाई लगानीकर्ताहरूले सकारात्मक संकेतका रूपमा लिएका छन्।
वित्तीय प्रणालीमा तरलता बढेको, बैंक ब्याजदर घटेको र सेयर धितो कर्जालाई प्राथमिकता दिइएकाले बजारमा पूँजी प्रवाह सहज भएको छ। तर यथास्थितिमा सुधार ल्याउन आम लगानीकर्ताको मनोविज्ञानमा भरोसा जगाउनुपर्ने देखिन्छ। विश्लेषकहरूको सुझाव छ—सबल वित्तीय सूचक, लाभांश क्षमता र दीर्घकालीन रणनीति भएको कम्पनीमा योजनाबद्ध लगानीले मात्र आगामी दिनमा लाभ दिनेछ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६२ अकंले घटेर २६१०.७६ बिन्दुुमा कायम भएको छ । आज ३१९ कम्पनीको १ करोड ८४ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।
यसदिन १० उपसूचक राताम्य भएका छन् भने तीन उपसूचकमा सुधार देखिएको छ । आज ८६ कम्पनीको शेयर मूल्य बढ्दा १५९ कम्पनीको घटेको हो ।













