बजारमा ओरालो यात्रामा ब्रेकः ८ अर्ब ७४ करोडको कारोबार, कस्तो होला अबको लय ?

काठमाडौँ । लगातारको पाँच दिनको ओरालो यात्रामा ब्रेक लागेको छ । मंगलबार बजार झिनो अकंले बढ्न पुगेको हो ।
नेप्से सूचक लामो समयदेखि स्थिर अवस्थामा रहँदै आएको छ, जसको प्रमुख कारण लगानीकर्ताको मनोबल कमजोर हुनु हो । गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ, सरकार परिवर्तनको अड्कलबाजी र नीतिगत अस्पष्टताका कारण बजारले स्पष्ट दिशा लिन सकेको छैन । लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा छन्, किनभने उनीहरू समग्र निजी क्षेत्रमैत्री र पुँजी बजारप्रति लचक नीति लिने गभर्नरको अपेक्षामा छन् ।
वास्तवमा हालको बजार स्थितिमा सेयर कर्जाका सीमा, धितो कर्जाको जोखिम भार गणना लगायतका विषयले लगानीकर्तालाई प्रभावित पारेका छन्। ब्याजदर घट्दो क्रममा हुँदाहुँदै पनि बजार चलायमान हुन नसक्नुले लगानीकर्ताको विश्वसनीयता तह कमजोर रहेको स्पष्ट देखिन्छ । ठूला र संस्थागत लगानीकर्ताले जोखिम मोलेर सक्रियता नदेखाएकाले बजार साइडवेज ट्रेन्डमै अडिएको हो, जसले सर्वसाधारण लगानीकर्तामा अन्योलता थपेको छ ।
यद्यपि पछिल्लो समय दैनिक कारोबार रकममा सुधार देखिनु, बजारमा एकुमुलेसनको क्रम चल्नु र सिजनल प्रभावको सुरुआत हुनु सकारात्मक संकेत हुन् । बजार विश्लेषकहरुका अनुसार यस लामो साइडवेज चरणपछि बजार विस्तारै उकालो लाग्ने सम्भावना बलियो देखिएको छ । त्यसैले लगानीकर्ताले अहिलेको चरणमा सबल वित्तीय सूचक भएका कम्पनीहरु छान्दै दीर्घकालीन रणनीति बनाउन सके भविष्यमा लाभ उठाउने आधार तयार हुने अनुमान गर्न सकिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२६ अकंले बढेर २६१४.६७ बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको २ करोड ५ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७४ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।
आज पाँच उपसूचकमा सुधार देखिएको छ भने आठ उपसूचक राताम्य हुन पुगेका हुन् । आज १२० कम्पनीको शेयर मूल्य बढ्दा १२६ कम्पनीको घटेको छ ।













