आरम्भ चौतारी लघुवित्तद्वारा ६ प्रदेशमा त्रैमासिक लक्ष्य समिक्षा गोष्ठि सम्पन्न

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभर रहेका ६ वटै प्रदेशमा “तेश्रो त्रैमासिक लक्ष्य प्रगती समिक्षा तथा चौंथो त्रैमासिक लक्ष्य निर्धारण” सम्बन्धी गोष्ठि सम्पन्न गरेको छ। केन्द्रीय कार्यालय बनेपाको आयोजना तथा सबै प्रदेश कार्यालयको समन्वयमा भएको कार्यक्रममा १३५ वटा शाखा कार्यालयहरूबाट शाखा प्रमुख, कार्यक्रम अधिकृत तथा प्रदेश प्रमुख गरी कुल १५५ जना सहभागी भएका थिए।
गोष्ठि क्रमशः बैशाख १० गते कोशी प्रदेशको ईटहरीमा, बैशाख १६ गते वागमतीको सौराहामा, बैशाख १८ गते लुम्बिनीको बुटवलमा र बैशाख २० गते नेपालगञ्जमा सम्पन्न गरिएको थियो। गोष्ठिमा तेश्रो त्रैमासको लक्ष्यअनुसारको प्रगती समिक्षा गरिएको र चौंथो त्रैमासको कार्ययोजना र लक्ष्य निर्धारण गरिएको थियो।
कार्यक्रमको प्रारम्भ ईटहरीबाट गरिएको हो भने समापन नेपालगञ्जमा भएको थियो। सहभागी शाखा प्रमुख तथा प्रदेश प्रमुखहरूले शाखाहरूमा देखिएका समस्या, देशको वर्तमान आर्थिक अवस्थाले कार्यक्रममा पारेको प्रभाव, समाधान उपायहरू लगायतका विषयमा छलफल गरेका थिए।
लुम्बिनीको बुटवलमा आयोजित कार्यक्रममा सञ्चालक समितिका सदस्य गोपाल प्रसाद वश्यालले उद्घाटन गर्दै कर्मचारीहरूको प्रतिबद्धता र मेहनतको प्रशंसा गर्दै संस्थालाई अग्रणी लघुवित्त बनाउने लक्ष्यतर्फ अग्रसर भएको धारणा व्यक्त गरे।

सबै कार्यक्रमको उद्घाटन प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले गरेका थिए। उनले तेस्रो त्रैमासमा उत्कृष्ट प्रदर्शन गरेका शाखाहरूलाई बधाई ज्ञापन गर्दै चौंथो त्रैमासमा सबै शाखाले शतप्रतिशत लक्ष्य हासिल गरी सम्मानित हुन प्रेरित गरे। उनले कम प्रदर्शन गरेका शाखाहरूलाई जिम्मेवार, कर्तव्यनिष्ठ र रणनीतिक कार्य योजना तयार गरी काम गर्न निर्देशन पनि दिए।
कार्यक्रममा कर्जा विभाग प्रमुख टोप बहादुर रास्कोटीले कर्जा चक्र र स्वीकृति प्रक्रियामा देखिएका समस्या र समाधानका उपायबारे प्रशिक्षण दिए। यस्तै, विजनेस अफिसर चन्दन कुमार सरदारले डिलिन्क्वेन्सी म्यानेजमेन्टबारे तथा जोखिम विभाग प्रमुख देवचन्द्र रायले कर्जा जोखिम तथा असुली सम्बन्धी प्रशिक्षण दिए।

कार्यक्रम सञ्चालन टोप बहादुर रास्कोटीले गरेका थिए भने डाटा प्रस्तुतीकरण सूचना प्रविधि विभागका राम प्रसाद पौडेलले गरेका थिए। कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृतहरू रिपेन्द्र दाहाल, सन्तोष रायमाझी र दीपा ज्ञवालीले सम्हालेका थिए।
हाल संस्थाले ६ प्रदेश, ५३ जिल्लामा १३५ शाखा, ६ प्रदेश कार्यालय र केन्द्रीय कार्यालय सहित १४२ कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ। संस्थाले ग्रामीण क्षेत्रका विपन्न महिलालाई समूहमा आबद्ध गराई बिना धितो तथा धितो कर्जा, व्यावसायिक तालिम र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ।
२०८१ चैत्र मसान्तसम्म संस्थाले १ लाख ५ हजार सदस्यमार्फत १ अर्ब ८२ करोड रुपैयाँ बचत संकलन तथा ३४ हजार ऋणीमार्फत ५ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरिसकेको छ।













