धितोपत्र बोर्डमा कमिसनको खेलबारे सांसदमा उठ्यो प्रश्न

२४ बैशाख २०८२, बुधबार १४:३८

काठमाडौं। सांसदहरूले प्रतिनिधि सभामा धितो पत्र बोर्डले आईपीओ निष्कासन गर्दा कमिसन मागेको विषयमा प्रश्न गरेका छन् । उनीहरूले कमिसन मागको विषयमा सरकारले बोर्डमा छानबिन गर्न माग समेत गरेका छन् ।

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले धितो पत्र बोर्डमा कमिसनको खेलका कारण २२ महिनादेखि १ हजार ९.५२ मेगावाट क्षमताका ४३ वटा आयोजनाका ८९ कम्पनीका ५६ अर्ब ७ करोड ९३ लाख बराबरको आईपीओको अनुमति रोकिएको बताए ।

धितो पत्र बोर्डले सानो परियोजनासँग ५ र ठुलासँग ७ प्रतिशतसम्मको बार्गेनिङ गरेको समाचारहरू बाहिरिएको भन्दै सापकोटाले यसमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । सांसद सापकोटाले यसबारे भरपर्दो संयन्त्रबाट छानबिन गर्न सरकारलाई रुलिङ गर्न माग समेत गरे ।

उनले भने, ‘सरकारले २८ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य लिएको छ, तर सरकारकै निकायको रवैया यस्तो छ त्यसैले यो घटनाको बारेमा भरपर्दो संयन्त्रबाट छानबिन गर्नु पयो सभामुखमार्फत रुलिङको माग गर्दछु ।’

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले पनि आईपीओ जारी गर्न धितोपत्र बोर्डका अध्यक्षले कमिसन मागेको भन्दै उनीमाथि कारबाहीको माग गरिन् ।

उनले भनिन्, ‘धितो पत्र बोर्डका अध्यक्षले खुल्लमखुल्ला जसरी कमिसन मागेका छन्, मलाई त लाग्छ–प्रधानमन्त्रीज्यूको अध्यक्षतामा बनेको सुशासन आयोगले एउटा राम्रो काम पाएको छ ।’

उनले आईपीओ निष्कासन गर्नका लागि धितो पत्र बोर्डका प्रमुखले ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको भन्ने कुरा प्रशस्त बजारमा आइरहेको उल्लेख गरिन् । उनले धितो पत्र बोर्डका अध्यक्षमाथि प्रधानमन्त्री नेतृत्वको सुशासन आयोगले कारबाही गर्नुपर्ने पनि कार्कीले माग गरिन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*