फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको नाफासँगै ईपिएसमा गिरावट

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको नाफाका साथै प्रतिशेयर आम्दानी लगायतका महत्वपूर्ण सूचांकमा भारी गिरावट आएको छ ।
प्रकाशित विवरण अनुसार कम्पनीको मुनाफा ६८.९६ प्रतिशतले घटेर तीन करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीले गत वर्षको सोही अवधिमा ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी ०.४० प्रतिशतले बढेर ८८ करोड १७ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले ८७ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा पनि ५.७८ प्रतिशतले बढेर १८ करोड ५८ लाख रुपैयाँ कायम भएको छ भने खराब कर्जा ५.८५ प्रतिशत रहेको छ ।
कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी भने घटेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ६९ पैसाले घटेर ४ रुपैयाँ ०३ पैसा (वार्षिक) मा सीमित भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७२ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २५३ रुपैयाँ ६२ पैसा छ ।













