गभर्नर नियुक्तिमा सरकारले राजनीतिक चलखेल गरिरहेको स्वर्णिम वाग्लेको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का उपसभापति तथा सांसद डा। स्वर्णिम वाग्लेले गभर्नर नियुक्तिमा सरकारले राजनीतिक चलखेल गरिरहेको आरोप लगाएका छन् ।
पूर्वी नवलपरासीस्थित रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै शनिबार उनले यस्तो आरोप लगाएका हुन् । वाग्लेलले दुई ठूला दलबीचका बिचौलियामार्फत गर्भनर नियुक्त गराउने बिषयमा होडबाजी सुरु भएको बताएका छन् ।
‘सानो एउटा राष्ट्र बैंकको नियुक्तिमा पनि दुई महिनादेखि अल्झिएको छ,’ वाग्लेले भने, ‘माथि सेटिङ गरेर समिति बसाइन्छ, अनि एउटा रबर स्ट्याम्प नियुक्ति हुन्छ जस्तो देखिन्छ ।’
सरकार सेटिङ र भागबण्डाको आधारमा निर्णय गर्ने प्रवृत्तिमा रमाइरहेको आरोप लगाउँदै उनले गभर्नर सिफारिस समितिले योग्य र स्वतन्त्र व्यक्तित्व छनोट गर्ने सम्भावना कम भएको धारणा राखे । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि भएको प्रतिनिधिसभा बैठकमा उनले समग्र निर्णय प्रक्रियामै पारदर्शिता र जवाफदेहिताको अभाव देखिएको टिप्पणी गरे ।













