बलियो देखिदै अर्थतन्त्रका मुल जराः अधिकांश सूचक सकारात्मक

२८ बैशाख २०८२, आईतवार १८:०६

काठमाडौँ । नेपालको अर्थतन्त्र हाल सुदृढ र स्थिर देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अर्थतन्त्रका अधिकांश मुख्य सूचक सकारात्मक देखिएका हुन् ।

रेमिट्यान्सको उच्च प्रवाह, बैंकिङ क्षेत्रमा वृद्धि र कर्जा प्रवाहमा सकारात्मक प्रवृत्तिहरूले अर्थतन्त्रको मजबुतीलाई संकेत गरेको छ । यस्तै, मूल्यवृद्धि (मुद्रास्फीति) मा कमी आएको छ, जसले जीवनयापनको लागतलाई कम राख्नमा मद्दत पुर्याएको छ ।

घरजग्गामा लगानीको वृद्धि, विशेष गरी घरजग्गा धितोमा लगानीको उच्च दरले अर्थतन्त्रको समृद्धि र वित्तीय स्थिरतामा योगदान गरेको छ । साथै, चालु खाता र शोधनान्तर अवस्थामा देखिएको सकारात्मक प्रवृत्ति अर्थतन्त्रको सशक्त आधारको चिन्ह हो । यी सबै पक्षहरूले नेपालको आर्थिक संरचनामा बलियो जरा थपेका छन् । अर्थतन्त्रको प्रत्येक पाटोमा सुधार र वृद्धिको संकेत देखिरहेको छ ।

१२ अर्ब रेमिट्यान्स भित्रियो

९ महिनामा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन गत वर्षको तुलनामा १० प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ७४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।

विदेशी विनिमय सञ्चिति झण्डै १९ प्रतिशतले बढ्दै २४ खर्ब नाघ्यो

चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशत बढेर २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । गत असारसम्ममा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति चैत मसान्तसम्ममा १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ । जबकी २०८१ असार मसान्तसम्ममा १५ अर्ब २७ करोड अमेरिकी डलर थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १५.६ प्रतिशत बढेर २१ खर्ब ३६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेको थियाो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थासँग चैतसम्म ५०.८ प्रतिशतले वद्धि भई २ खर्ब ९० अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ । २०८१ असार मसान्तसम्ममा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ थियो । २०८१ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप र कर्जा दुबैमा वृद्धि, घरजग्गा धितोमा लगानी उच्च

चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप ३ खर्ब ६८ अर्ब ४७ करोड रुपैयाँले वृद्धि भएको छ, जसको वृद्धि दर ५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ७.२ प्रतिशतको वृद्धि भएको थियो। यस अवधिमा, बैंकहरूको कुल निक्षेपमा चल्ती खाताको अंश ५.७ प्रतिशत, बचत खाताको अंश ३५.८ प्रतिशत र मुद्दती खाताको अंश ५१.० प्रतिशत रहेको छ ।

साथै, यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ६१ अर्ब ३ करोड रुपैयाँले वृद्धि भएको छ, जुन ७.१ प्रतिशतको वृद्धि हो। अघिल्लो वर्षको सोही अवधिमा कर्जा ४.६ प्रतिशतको वृद्धि भएको थियो। कुल कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६३.४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३६.६ प्रतिशत कर्जा प्रवाहित भएको छ।

कर्जा प्रवाहको वर्गीकरणमा वाणिज्य बैंकहरूले ७.४ प्रतिशत, विकास बैंकहरूले ४.६ प्रतिशत र वित्त कम्पनीहरूले ६.४ प्रतिशत कर्जा प्रवाहमा वृद्धि गरेको देखिन्छ। कर्जामा ६५.२ प्रतिशत घरजग्गा धितोको आधारमा प्रवाहित गरिएको छ, जबकि कृषि र गैर–कृषिजन्य वस्तुमा कर्जा प्रवाह १४.६ प्रतिशत रहेको छ ।

क्षेत्रगत रूपमा, औद्योगिक उत्पादन, निर्माण, थोक व्यापार, यातायात, र सेवायुक्त क्षेत्रतर्फ कर्जा प्रवाहमा क्रमशः ९.६ प्रतिशत, ११.४ प्रतिशत, ५.२ प्रतिशत, १०.२ प्रतिशत र ८.६ प्रतिशतको वृद्धि भएको छ। ट्रष्ट रिसिट कर्जा र रियल स्टेट कर्जामा पनि ६०.६ प्रतिशत र ४.९ प्रतिशतको वृद्धि देखिएको छ।

नेपालमा मूल्यवृद्धि घट्दै

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८१ चैत महिनामा नेपालको मुद्रास्फीति ३.३९ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ४.६१ प्रतिशत थियो। यस वर्षको चैत महिनामा मूल्यवृद्धिमा गिरावट आएको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.४५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.२२ प्रतिशत र ४.२० प्रतिशत थियो ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू र तेलको मूल्यमा ११.६३ प्रतिशत, फलफूलमा ९.०७ प्रतिशत, र दाल तथा गेडागुडीको मूल्यमा ६.५८ प्रतिशत वृद्धि भएको छ । तर, तरकारीको मूल्यमा भने ५.२४ प्रतिशत र माछा तथा मासुको मूल्यमा ०.८९ प्रतिशत घटेको छ । यद्यपि, गैर–खाद्य तथा सेवा समूहका वस्तुहरूमा वृद्धि कायम छ, विशेषतः विविध वस्तु तथा सेवामा ८.६९ प्रतिशतको वृद्धि भएको छ ।

प्रदेशगत रूपमा, २०८१ चैत महिनामा कोशी प्रदेशमा ४.९१ प्रतिशत मुद्रास्फीति र बागमती प्रदेशमा २.८० प्रतिशत मुद्रास्फीति रहेको छ। काठमाडौं उपत्यकामा मुद्रास्फीति २.९५ प्रतिशत रहेको छ भने, तराईमा ३.३१ प्रतिशत, पहाडमा ३.४६ प्रतिशत र हिमाल क्षेत्रको मुद्रास्फीति ४.४७ प्रतिशत रहेको छ ।

कुल आन्तरिक कर्जा २.५ प्रतिशतले बढ्यो

आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा कुल आन्तरिक कर्जा २.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा यस्तो कर्जा ६.८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २१.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १७.२ प्रतिशतले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा यस्तो दाबी १.२ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ५.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिकोदाबी ८.१ प्रतिशतले बढेको छ ।

नेपालको चालु खाता र शोधनान्तर स्थिति बचतमै

नेपालको चालु खाता तथा शोधनान्तर स्थिति दुबै बचतमै देखिएको छ । आर्थिक स्थायित्वतर्फ सकारात्मक संकेत दिँदै चालु खाता २ खर्ब १० अर्ब २२ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा वृद्धि हो। अघिल्लो वर्ष चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोडले बचतमा रहेको थियो।

अमेरिकी डलरमा हेर्दा समीक्षा अवधिमा चालु खाता १ अर्ब ५५ करोड डलरले बचतमा रहेको देखिएको छ, जबकि अघिल्लो वर्ष यो बचत १ अर्ब ३५ करोड डलर थियो।यस अवधिमा पूँजीगत पक्षमा पनि सुधार देखिएको छ। खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ७१ करोड पुगेको छ, जुन अघिल्लो वर्षको ४ अर्ब ७८ करोडको तुलनामा उल्लेख्य वृद्धि हो।

त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) पनि बढेर ८ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यो लगानी रु. ६ अर्ब ४९ करोडमा सीमित थियो। शोधनान्तर स्थिति भने केही घटेर पनि अझै बचतमै देखिएको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ, जबकि अघिल्लो वर्ष यो ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो । अमेरिकी डलरमा यो बचत अहिले २ अर्ब ५५ करोड पुगेको छ, जुन अघिल्लो वर्ष २ अर्ब ७५ करोड थियो।

पूर्णपाठ:-

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Nine-Months-data-of-2081.82-1

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*