लघुवित्तहरूको खराब कर्जा बढ्दो, १८ संस्थाको १०% भन्दा माथि (तथ्यांक सहित)

२८ बैशाख २०८३, सोमबार १३:०८

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म अधिकांश लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अर्थात् खराब कर्जा (एनपीएल) अनुपात बढेको देखिएको छ। सूचीकृत ५० मध्ये हालसम्म ३४ लघुवित्तहरूले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। सोही वित्तीय विवरण अनुसार समीक्षा अवधिमा लघुवित्त क्षेत्रको औसत एनपीएल ११.३५ प्रतिशत पुगेको छ जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात ६.८७ प्रतिशत रहेको थियो। यसअनुसार समग्र क्षेत्रको खराब कर्जा ४.४८ प्रतिशत बिन्दुले बढेको देखिन्छ।

यस अवधिमा सबैभन्दा कम खराब कर्जा छिमेक लघुवित्तको रहेको छ। संस्थाको एनपीएल २.३२ प्रतिशतमा सीमित भएको छ जुन गत वर्षको २.६० प्रतिशतको तुलनामा ०.२८ प्रतिशत बिन्दुले घटेको हो। सपोर्ट लघुवित्तको ३.३१ प्रतिशत पुगेको छ भने गुराँस लघुवित्तको ३.४१ प्रतिशत र आरएसडीसी लघुवित्तको ३.४६ प्रतिशत रहेको छ। यी संस्थाहरूमा खराब कर्जा सामान्य रूपमा बढेको देखिन्छ। यता साना किसान विकास लघुवित्तको एनपीएल ४.१२ प्रतिशत पुगेको छ भने फस्र्ट माइक्रोफाइनान्सको घटेर ४.३६ प्रतिशतमा झरेको छ। जीवन विकास लघुवित्तको ४.८० प्रतिशत रहेको छ जुन गत वर्षको तुलनामा केही सुधारिएको हो। ग्रामीण विकास लघुवित्तको ४.९४ प्रतिशत पुगेको छ भने अभियान लघुवित्तको घटेर ५.१४ प्रतिशतमा आएको देखिन्छ।

मानुषी लघुवित्तको ५.७८ प्रतिशत रहेको छ भने सामुदायिक लघुवित्तको ६.७८ प्रतिशत पुगेको छ। स्वरोजगार लघुवित्तको ७.०१ प्रतिशत पुगेको छ भने डिप्रोक्स लघुवित्तको एनपीएल घटेर ७.५२ प्रतिशतमा सीमित भएको देखिन्छ। महुली लघुवित्तको एनपीएल ८.१७ प्रतिशत पुगेको छ। ग्लोबल आइएमई लघुवित्तको ८.६९ प्रतिशत पुगेको छ भने आशा लघुवित्तको ९.८८ प्रतिशत पुगेको देखिन्छ। हिमालयन लघुवित्तको एनपीएल १०.०४ प्रतिशत पुगेको छ भने उपकार लघुवित्तको १०.७४ प्रतिशत रहेको छ। उन्नति सहकार्य लघुवित्तको खराब कर्जा ११.१२ प्रतिशत पुगेको छ।

आत्मनिर्भर लघुवित्तको एनपीएल भने घटेर ११.१७ प्रतिशतमा आएको छ। गत वर्ष यसको एनपीएल १५.०८ प्रतिशत रहेको थियो। निर्धन उत्थान लघुवित्तको एनपीएल १३.९५ प्रतिशत पुगेको छ भने कालिका लघुवित्तको १४.१४ प्रतिशत पुगेको देखिन्छ। गणपति लघुवित्तको एनपीएल १४.२९ प्रतिशत पुगेको छ भने समता घरेलु लघुवित्तको खराब कर्जा १५ प्रतिशत पुगेको छ। एनएमबी लघुवित्तको एनपीएल १५.५० प्रतिशत पुगेको छ भने एनआईसी एशिया लघुवित्तको खराब कर्जा अनुपात १६.५९ प्रतिशत पुगेको छ।

सूर्योदय वोमी लघुवित्तको १७.९० प्रतिशत पुगेको छ भने मेरो माइक्रोफाइनान्स लघुवित्तको १८.८४ प्रतिशत पुगेको देखिन्छ। फर्वार्ड माइक्रोफाइनान्स लघुवित्तको १८.९१ प्रतिशत पुगेको छ भने युनिक नेपाल लघुवित्तको १९.५३ प्रतिशत रहेको छ। सीवाईसी नेपाल लघुवित्तको एनपीएल १९.७० प्रतिशत पुगेको छ भने नेस्डो समृद्ध लघुवित्तको २१.३४ प्रतिशत पुगेको छ। धौलागिरि लघुवित्तको २३.६२ प्रतिशत पुगेको छ भने इन्फिनिटी लघुवित्तको सबैभन्दा बढी २३.९३ प्रतिशत पुगेको देखिन्छ।

समग्रमा हेर्दा अधिकांश लघुवित्त संस्थाहरूमा खराब कर्जा बढ्दो क्रममा देखिएको छ। ग्रामीण अर्थतन्त्रमा आएको सुस्तता, ऋणीहरूको भुक्तानी क्षमतामा आएको दबाब तथा कर्जा असुलीमा देखिएको चुनौतीका कारण लघुवित्त क्षेत्रको निष्क्रिय कर्जा अनुपात उच्च बन्दै गएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*