एनएमबि लघुवित्त र गण्डकी मेडिकल कलेजबीच स्वास्थ्य सेवामा १५% सम्म छुट सम्झौता, ग्राहकलाई १०% सहुलियत

काठमाडौँ । वित्तीय पहुँचसँगै सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच विशेष छुट सुविधा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ ।
सम्झौता अनुसार गण्डकी मेडिकल कलेजले एनएमबि लघुवित्तका कर्मचारी, प्रवद्र्धक, शेयरधनी तथा तिनका परिवार सदस्यहरूलाई अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ । त्यसैगरी, एनएमबि लघुवित्तका ग्राहकहरूलाई अस्पताल सेवामा १० प्रतिशतसम्म छुट सुविधा प्रदान गरिने व्यवस्था गरिएको छ ।
सम्झौताले विशेषगरी संस्थाको वित्तीय सेवामा आबद्ध समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्नुका साथै वित्तीय संस्था मार्फत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने यस प्रकारको सहकार्यले सामाजिक उत्तरदायित्व, ग्राहक हित संरक्षण तथा संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउने एनएमबि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।
सम्झौताअनुसार एनएमबि लघुवित्तले आफ्ना ग्राहक तथा सेवाग्राहीहरूलाई उक्त छुट सुविधाबारे आवश्यक जानकारी प्रवाह गर्नेछ भने गण्डकी मेडिकल कलेजले सेवा प्रवाहमा कुनै विभेद नगरी गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । अस्पतालले एनएमबि लघुवित्तबाट जारी परिचयपत्र, डिजिटल आईडी वा क्यूआर आधारित पहिचान मार्फत छुट सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ ।
दुवै संस्थाबीच सम्पन्न यस सहकार्यले स्वास्थ्य र वित्तीय क्षेत्रबीचको समन्वयलाई थप प्रभावकारी हुने र यसबाट विशेषगरी स्वास्थ्य उपचार खर्च व्यवस्थापनमा कठिनाइ भोगिरहेका सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने वित्तीय संस्थाका जोखिम अधिकृत रामप्रसाद भण्डारीले बताए ।
वित्तीय संस्थाका ग्राहकलाई लक्षित गरि आगामी दिनमा विभिन्न स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने, महिलाको पाठेघरको क्यान्सर, थाइराइड, सुगर, प्रेसर आदि रोगहरुको परिक्षण र स्वास्थ्योपचारमा समेत अस्पताल र वित्तीय संस्थाबिच आपसी सहकार्य गर्ने समझदारी भएको भण्डारीले जानकारी दिए ।
सम्झौतापत्रमा एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सजल खड्का तथा गण्डकी मेडिकल कलेजका तर्फबाट प्रिन्सिपल डा रबिन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरे । कार्यक्रममा दुवै संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।












