नीति तथा कार्यक्रममा बीमा सम्बन्धी कुन–कुन विषय समेटियो?

२८ बैशाख २०८३, सोमबार १७:४५

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बीमा क्षेत्र न्यून मात्रामा समेटिएको छ। पूँजी बजारलाई सुरक्षित र प्रतिस्पर्धी बनाउँदै यसको विकासका लागि संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्युचुअल फण्ड र गैरआवासीय नेपालीहरूको सहभागिता विस्तार गर्ने नीति लिइएको छ।

त्यसैगरी कृषि क्षेत्रको सुदृढीकरणका लागि साना किसानहरूलाई लक्षित गर्दै बाली तथा पशुधन बीमाको दायरा विस्तार गरिने उल्लेख छ। किसानहरूलाई झन्झटरहित रूपमा बीमा सेवा प्रदान गर्न यस प्रक्रियालाई थप आधुनिक र सहज बनाउन बीमा लेख जारी गर्ने, प्रिमियम अनुदान भुक्तानी गर्ने र बीमा दाबी गर्ने प्रक्रियालाई पूर्ण रूपमा डिजिटल प्रणालीमा आबद्ध गरिने बताइएको छ।

स्वास्थ्य सेवाका क्षेत्रमा पनि बीमा समेटिएको छ। जसमा स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने विषय समावेश छ। यस पुनर्संरचनामार्फत स्वास्थ्य बीमालाई थप प्रभावकारी र नागरिकमैत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

यसैगरी विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि पनि बीमालाई एक प्रमुख औजारको रूपमा हेरिएको छ। विपद् पश्चात् हुने क्षतिपूर्ति, राहत र पुनर्निर्माणका कार्यहरूमा बीमा लगायतका जोखिम हस्तान्तरणका उपकरणहरूको प्रयोगलाई व्यापक रूपमा विस्तार गरिने उल्लेख छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*