१४९ जलविद्युत् आयोजनाबाट साढे १८ करोड रोयल्टी बक्यौता, सरकारी राजस्व असुलीमा ढिलाइ

१ जेष्ठ २०८३, शुक्रबार १८:०९

काठमाडौं । जलविद्युत् क्षेत्रमा सञ्चालनमा रहेका १४९ वटा आयोजनाले सरकारलाई बुझाउनुपर्ने करिब साढे १८ करोड रुपैयाँ रोयल्टी बक्यौता अझै तिर्न बाँकी रहेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयको ताजा प्रतिवेदनअनुसार २०८२ साल चैत ३ गतेसम्म यस्तो बक्यौता १८ करोड ४६ लाख ४७ हजार रुपैयाँ पुगेको उल्लेख छ ।

प्रतिवेदनले विद्युत् ऐन, २०४९ को दफा ११ अनुसार अनुमतिपत्र प्राप्त संस्थाले जलविद्युत् उत्पादन सुरु गरेको पहिलो १५ वर्षसम्म प्रति जडित किलोवाट वार्षिक १०० रुपैयाँका दरले तथा प्रति युनिट (किलोवाट घण्टा) सरदर बिक्री मूल्यको २ प्रतिशत रोयल्टी सरकारलाई बुझाउनुपर्ने व्यवस्था रहेको स्पष्ट पारेको छ ।

त्यसैगरी, उक्त अवधि पूरा भएपछि भने रोयल्टीको दायरा बढेर प्रति जडित किलोवाट वार्षिक १ हजार रुपैयाँ तथा प्रति युनिट सरदर बिक्री मूल्यको १० प्रतिशत बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ ।

विद्युत् विकास विभागको विवरण अनुसार २०८२ चैत ६ गतेसम्म १४९ जलविद्युत् आयोजनाबाट यही कानुनी व्यवस्थाअनुसार उठ्नुपर्ने रोयल्टी बक्यौता रहेको देखिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*