९० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माणका लागि लगानी सम्झौता

१ जेष्ठ २०८२, बिहीबार ०९:५१

काठमाडौं । गोरखा, लमजुङ र तनहुँ जिल्लाको पालुङटार, राईनास र भानु नगरपालिका हुँदै बग्ने मर्स्याङ्दी नदीमा बन्ने ९० मेगावाटको जलविद्युत् आयोजना निर्माणका लागि लगानी सम्झौता भएको छ।

वैशाख ३१ गते कुमारी बैंक लिमिटेडको नेतृत्वमा लगानी सम्झौता सम्पन्न भएको हो। उक्त सम्झौतामा एम.ए. पावरका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्का उपस्थित थिए। एम.ए. पावर प्रा.लि.ले निर्माण गर्ने यो आयोजना अर्धजलाशययुक्त हुनेछ।

यस आयोजना निर्माणका लागि कुमारी बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबाट गरी करीब १५ अर्ब १८ करोड ७५ लाख रुपैयाँ बराबरको संयुक्त लगानी हुनेछ।

आयोजनामा स्वपुँजी लगानी अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालबाट हुनेछ। साथै डोल्मा इम्प्याक्ट फण्डले कम्पनीमा संस्थापक शेयरको ४९ प्रतिशतसम्म लगानी गर्ने जनाएको छ।

यही समूहले बनाइरहेको २२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजना पनि अन्तिम चरणमा पुगेको छ।

नेपाल विद्युत प्राधिकरणसँग २०८० साल कार्तिक १ गते आयोजना सम्बन्धी विद्युत खरिद सम्झौता भइसकेको छ। निर्माण सकिएपछि २०८६ साल बैशाख २२ गतेदेखि व्यावसायिक रूपमा उत्पादन शुरू हुने लक्ष्य राखिएको छ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इएआईए) प्रतिवेदन स्वीकृतिका लागि अन्तिम चरणमा पुगेको छ। उत्पादन हुने विद्युत ११.६ किलोमिटर लामो २२० केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा जोडिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*