गभर्नर नियुक्तिमा सरकारको चलखेल र प्रपञ्च, देश गलत दिशातिर गइरहेको छ : प्रचण्ड

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले अनेक खालका चलखेल र प्रपञ्चहरू गरिरहेको आरोप लगाएका छन्। आज बैतडीको पाटनबाट जनतासँग माओवादी– मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्ति हुनुपर्ने पद हो। अहिलेसम्म सरकारले गभर्नर नियुक्ति गर्न सकेको छैन। त्यसमा अनेक खालका चलखेल र प्रपञ्चहरू भइराखेका छन्,’ प्रचण्डले भने।
उनले भने, ‘यो सबै कारणले सरकार गलत दिशातिर गएको छ । राष्ट्र र जनताको हित विपरीत गएको छ । यो देशका मजदुर किसानहरूको हित विपरीत गएको छ।’ सरकारको गलत कदमविरुद्ध आफूहरू चुनौती दिएर हिँडिरहेको उनको भनाइ छ । उनले भने, ‘अझै पनि हामी यो मध्य पहाडी लोकमार्गसम्म जाँदा सरकारलाई खबरदारी र चुनौती दिँदै जाने छौं । हाम्रो कुराको बिल्कुल सुनवाइ सरकारले गर्न चाहेको छैन, उल्टो दिशातिर हिँडेको छ ।’
‘बिचौलिया दलालहरूले हामीलाई सरकारबाट बाहिर आउन बाध्य पारे । तर पनि हामीले खबरदारी गरिरहेका छौँ । सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरेहको छ,’ उनले भने ।













