१० अर्बभन्दा बढीको शेयर लाभमा ५१ करोड लाभकर असुल नभएको खुलासा

काठमाडौं । नेपालको एक ठूला करदाता अन्तर्गत पर्ने कम्पनीमा संस्थापक सेयर बिक्रीमार्फत १० अर्ब रुपैयाँभन्दा बढीको पुँजीगत लाभ भएको देखिए पनि सो लाभको आधारमा तिर्नुपर्ने ५१ करोड रुपैयाँभन्दा बढी लाभकर असुल नभएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको ६२औं वार्षिक प्रतिवेदनले सो तथ्य सार्वजनिक गरेको हो।
कर परीक्षण प्रतिवेदनका आधारमा सो करदाता कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ। सोही कम्पनीका संस्थापक सेयरधनीहरूमध्ये २०७८/७९ आर्थिक वर्षमा ९ जना सेयरधनीहरूले कूल ८६ करोड ४८ लाख ३० हजार रुपैयाँ बराबरको सेयर बिक्री गरेका थिए। त्यस्तै, २०७९/८० मा १५ जना सेयरधनीहरूले ८३ करोड ५९ लाख ८० हजार रुपैयाँको सेयर बिक्री गरेका थिए।
यी दुई आर्थिक वर्षमा कूल १ अर्ब ७० करोड ८ लाख १० हजार रुपैयाँ बराबरको संस्थापक सेयर खरिद बिक्री भएको तथ्य कर परीक्षणले पुष्टि गरेको हो। कम्पनीको प्रतिशेयर नेटवर्थ २०७८/७९ मा २४८ रुपैयाँ ९९ पैसा र २०७९/८० मा २३६ रुपैयाँ ७६ पैसा रहेको उल्लेख छ। नेटवर्थका आधारमा मात्रै हेर्दा २ अर्ब ४३ करोड १७ लाख ९६ हजार रुपैयाँ बराबरको पुँजीगत लाभ देखिन्छ।
यसका अतिरिक्त, बजार मूल्यको आधारमा विश्लेषण गर्दा यो लाभको मात्रा झनै उच्च देखिन्छ। महालेखा परीक्षकको प्रतिवेदनअनुसार, संस्थापक सेयर बिक्रीबाट १० अर्ब ३१ करोड ८३ लाख ५ हजार रुपैयाँ बराबरको पुँजीगत लाभ भएको छ।
तर यति ठूलो परिमाणको लाभ हुँदाहुँदै पनि आयकर ऐन, २०५८ को दफा ९५(क)(२ख) बमोजिम अग्रिम रुपमा असुल हुनुपर्ने ५ प्रतिशतदेखि ७.५ प्रतिशत लाभकर राज्यले असुल गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ।
महालेखा परीक्षकको प्रतिवेदनले पुँजीगत लाभमा आधारित भएर कम्तीमा पनि कम्पनीको नेटवर्थ अनुसार ५० प्रतिशत लाभमान्य हुने मान्दा १२ करोड १५ लाख ९० हजार रुपैयाँ र बजार मूल्य अनुसार ५१ करोड ५९ लाख १५ हजार रुपैयाँ बराबरको कर असुली हुनुपर्ने देखिएको छ।
तर, यो लाभकर असुल नगरी सरकारले ठूलो राजस्व गुमाएको देखिन्छ। प्रतिवेदनले स्पष्ट रूपमा यस विषयमा छानबिन गर्नुपर्ने सिफारिस गरेको छ। कर प्रशासनले आवश्यक विवरण संकलन गरी लाभ प्राप्त गर्ने सेयरधनीहरूको पहिचान गरी कर असुली प्रक्रिया अघि बढाउनु पर्ने महालेखा परीक्षकको सुझाव छ।













