निरन्तर खुम्चिदै बजारः विकास बैंकका लगानीकर्ता डुबे, ‘पर्ख र हेर’ अवस्था किन ?

काठमाडौँ । नेपालको शेयर बजार लगातार छैटौँ दिन ओरालो लाग्दै गएको छ । बजार सूचक दैनिक घट्दै जाँदा लगानीकर्ताको मनोबल समेत कमजोर देखिएको छ । अहिले अधिकांश लगानीकर्ता ‘पर्ख र हेर’ को मनस्थितिमा रहेका छन्, जसले बजारमा थप कारोबार संकुचन ल्याएको छ ।
बजारमा उत्पन्न नकारात्मक मनोविज्ञानको मूल कारण पछिल्लो समय नेपाल राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा हुनु हो । देशको मौद्रिक नीतिको मुख्य चालक गभर्नरको पद खाली हुँदा, वित्तीय स्थायित्वमा अनिश्चितता बढेको छ । गभर्नर नियुक्तिको विषयमा राजनीतिक भागबण्डा र असमझदारी देखा पर्दा पुँजी बजारमा अन्यौलता बढेको हो ।
नेपाल राष्ट्र बैंकको गभर्नरले मौद्रिक नीति तयार पार्ने तथा बैंक तथा वित्तीय क्षेत्रको अभिभावकको भूमिकामा रहने भएकाले पुँजी बजारका लगानीकर्ताले यो पदमा पुँजी बजारमैत्री नेतृत्वको अपेक्षा गरेका छन् । आगामी आर्थिक वर्षको बजेट नजिकिँदै गर्दा लगानीकर्ताहरू वित्तीय नीतिमा स्थायित्व, कर प्रणालीको स्पष्टता, र बजार अनुकूल योजना ल्याइने कुरामा पनि चासो दिइरहेका छन् । तर हालको नेतृत्वविहीन अवस्था र बजेटसम्बन्धी अनिश्चितताले उनीहरूलाई प्रतिक्षाको अवस्थामै राखेको छ ।
नेपाल स्टक एक्चसेञ्ज (नेप्सें) ३.७७ अकंले घटेर २६०८.०७ बिन्दुमा कायम भएको छ । आज ३०९ कम्पनीको १ करोड ६९ लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५० करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।

यसदिन १० उपसूचक राताम्य भएका छन् भने ३ उपसूचकमा मात्रै हरियाली देखिएको छ । आज विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
आइतबार १०० कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको घटेको छ ।













