गभर्नर नियुक्तिको खबरले शेयर बजारमा छायो हरीयाली, निर्जिवन बीमा र बैंकिङ क्षेत्रमा उत्साह

५ जेष्ठ २०८२, सोमबार १५:०९

काठमाडौं । साताको दोस्रो दिन नेप्से इन्डेक्स २२।९९ अंकले बढेर २६३२।०५ को विन्दुमा कायम भएको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ८ अर्ब ५० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२४ स्टकको ७१ हजार २८७ पटकको कारोबारमा ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँबराबरको १ करोड ६२ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज मन्त्रिपरिषद्मा गभर्नर नियुक्तिको सम्भावनालाई लिएर लगानीकर्ताहरु उत्साहित देखिएका छन् । सो कारण पनि बजार उकालो यात्रातर्फ अघि बढेको शेयर विश्लेषहरुको बुझाई रहेको छ।

होटल एण्ड टुरीजम बाहेक सबै सूचकमा हरीयाली छाएको छ। निर्जिवन बीमा र बैंकिङ क्षेत्रमा लगानीकर्ताहरुको उत्साह देखिएको छ।

विशेषगरी, गभर्नर नियुक्ति, आगामी मौद्रिक नीति समीक्षा र बजेटलाई लगानीकर्ताले कुरिरहेका छन् । यी कुराहरुमा केही सकारात्मक प्रभाव पार्ने खबर आएमा बजारले गति लिन सक्ने धेरैको अनुमान रहेको पाइन्छ ।

त्यसो त लामो समयदेखि सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले पनि गभर्नर नियुक्त गर्ने वा नगर्ने भन्ने कुनै टुंगोमा पुगिसकेको अवस्था छैन । यही कारण पनि लगानीकर्ता वेट एन्ड वाच मुडमा बसेको पाइन्छ ।

गभर्नर नियुक्ति प्रकरणसँग सेयर बजार पनि जोडिएको छ । गभर्नर नियुक्तिमा विलम्ब गरिएकै कारण नेप्सेले गति लिन नसकेको भन्नेहरुको समूह पनि निकै ठूलो रहेको छ ।

नोट : अन्तिम १५ मिनेटको कारोबारको औसत गणना बजार बन्द भएको केही समयपछि मात्र आउने भएकाले त्यसपछि नेप्से सूचकमा सामान्य तलमाथि हुन सक्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*