एभरेष्ट कलरको पूँजी बढ्यो, अब प्रतिकित्ता १०० रूपैयाँले ७ लाख ९० हजार कित्ता आईपीओ जारी गर्ने
८ जेष्ठ २०८२, बिहीबार ०८:५२

काठमाडौं । एभरेष्ट कलर लिमिटेडको भक्तपुरको कौशलटारस्थित केन्द्रीय कार्यालयमा सम्पन्न विशेष साधारण सभाले जारी पूँजी वृद्धि गरी ३० करोड पुर्याएको छ।
जारी पूँजी वृद्धि भएसँगै सोको २६.३३ प्रतिशत बराबर ७ लाख ९० हजार कित्ता प्राथमिक शेयर (आईपीओ) प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँका दरले निष्कासन गर्ने प्रस्ताव पारित भएको छ।
यस अघिको वार्षिक साधारण सभाले प्रतिकित्ता ५० रूपैयाँका दरले ७ लाख ८० हजार कित्ता आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेकोमा त्यसलाई संशोधन गरेको हो।
साथै सभाले स्वतन्त्र संचालकमा कपिल देव महतोलाई नियुक्त गरेको छ।
कम्पनीको संचालक समितिका अध्यक्ष महेश्वर खनालको अध्यक्षतामा सम्पन्न उक्त सभाले संचालक समितिले प्रस्ताव गरेका अन्य प्रस्तावहरू पनि पारित गरेको छ।













