दिव्यश्वरी हाइड्रोपावरको साधारणसभा आज बस्दै, हकप्रद निष्कासन मुख्य एजेण्डा

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको अघिल्लो दुई आर्थिक वर्ष (आव) को साधारणसभा आज मैतीदेवी सेतोपुलस्थित अन्नपूर्ण पार्टी भेन्यूमा बिहान साढे ११ बजेदेखि बस्दैछ।
सभाले कम्पनीको चुक्ता पूँजीको १ः१ अनुपात अर्थात् शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने र सोका लागि आवश्यक कार्य गर्न, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न र अन्य कम्पनीसँग मर्जरका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने छ।
यसका साथै गत दुई आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी गत आवको लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने छ।
साथै सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक र स्वतन्त्र सञ्चालकको नियुक्ति तथा अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ। सभा प्रयोजनार्थ कम्पनीले जेठ ८ गते बुक क्लोज गरिसकेकोले जेठ ७ गतेसम्म नेप्सेमा कायम शेयरधनीमात्रै सभामा भाग लिन सक्नेछन्।












