सुस्त पुँजी बजारः लगानीकर्ताको मनोबल कमजोर, किन आएन बुलको यात्रा ?

काठमाडौँ । शेयर बजार आज निरन्तर तेस्रो दिन समेत ओरालो लागेको छ । बजार घट्दा लगानीकर्ता निराश हुन पुगेका हुन् ।
शेयर बजारमा पछिल्लो समय आशा जगाउने नीतिगत सुधारहरू आए पनि कारोबार रकम र सूचकमा सुधार देखिएको छैन । केन्द्रीय बैंकले शेयर धितो कर्जामा जोखिमभार घटाउनु, ब्याजदरमा गिरावट र बैंकिङ प्रणालीमा तरलता वृद्धि जस्ता सकारात्मक पक्ष हुँदाहुँदै पनि बजार सुस्त गतिमा चलिरहेको छ । जानकारहरूका अनुसार बजारमा देखिएको सुस्तताको प्रमुख कारण ठूला र संस्थागत लगानीकर्ताको प्रतिक्षा रणनीति हो जसका कारण साना लगानीकर्ताको प्रयासले बजारमा ठूला उथलपुथल आउन सकेको छैन ।
बजार अहिले अकुमुलेसन चरणमा रहेको छ जहाँ मुख्य लगानीकर्ताहरू रणनीति तयार पार्न व्यस्त छन् । खासगरी ५० लाखभन्दा माथिको कर्जामा जोखिमभार घटेपछि ठूला लगानीकर्ताले शेयर कर्जा लिने तयारी थालेका छन् । बजार चलायमान बनाउन अब नयाँ लगानीकर्ताको प्रवेश र सशक्त मनोबल निर्माण हुने वातावरण बनाउनु अत्यावश्यक देखिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) ५.४९ अकंले घटेर २६४१.४६ बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको १ करोड ७१ लाख ८ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९७ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ ।

आज ११ उपसूचक राताम्य भएका छन् । यसदिन, हाइड्रोपावर समूहको १.२४ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.०१ प्रतिशतले शेयर मूल्य बढेको हो ।
आज ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १५३ कम्पनीको घटेको छ ।












