हकप्रद निष्कासनका लागि जोशी हाइड्रोपावरले तोक्यो बुक क्लोज मिति

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि बुक क्लोज मिति तोकेको छ।
कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद प्रयोजनका लागि आउँदो असार ८ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको हो।
बुक क्लोजको आधारमा असार ५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कायम शेयरधनीले मात्रै यस कम्पनीको हकप्रदमा आवेदन दिन पाउने भएका छन्। असार ६ र ७ गते शुक्रबार र शनिबार परेकाले नेप्से बन्द रहनेछ।
यस कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले २४ लाख १४ हजार कित्ता हकप्रद शेयर १ बराबर ०.६५ को अनुपातमा सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बार्डबाट अनुमति पाएको छ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। हकप्रद निष्कासनको मिति भने कम्पनीले हालसम्म तय गरिसकेको छैन।













