वायू प्रदूषणले अर्थतन्त्रको श्वास पनि थिचिँदै, विश्व बैंकले देखायो भयावह चित्र

३ असार २०८२, मंगलवार १५:३९

काठमाडौं । नेपालको आर्थिक वृद्धिमा वायू प्रदूषण गम्भीर चुनौतीका रूपमा देखा परेको छ। वायू प्रदूषण मानव स्वास्थ्यका लागि मात्र खतरा नभई समग्र अर्थतन्त्रलाई समेत दीर्घकालीन असर पुर्‍याइरहेको विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको हो। ‘सफा हावा नेपालमा : लाभ, स्रोत र समाधान’ शीर्षकको उक्त प्रतिवेदनले नेपालको वायुप्रदूषणको बहुआयामिक असरलाई गहिरो विश्लेषण गर्दै दीर्घकालीन आर्थिक क्षतिको खाका प्रस्तुत गरेको छ।

नेपाल जस्तो विकासोन्मुख राष्ट्रका लागि वायू प्रदूषणको प्रत्यक्ष आर्थिक लागत अत्यन्त गम्भीर छ। प्रतिवेदनले देखाएको तथ्याङ्क अनुसार हालको प्रदूषणका कारण मात्र नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ६ प्रतिशतभन्दा बढी बराबरको क्षति हुँदै आएको छ। यो अनुपात नेपालजस्तो सानो अर्थतन्त्रका लागि अत्यन्त ठूलो हो। यसमा प्रत्यक्ष स्वास्थ्य उपचार खर्च मात्रै नभई श्रम उत्पादनशीलता घट्नु, पर्यटन उद्योगमा घट्दो आगमन, हवाई उड्डयनमा बढ्दो जोखिम र दीर्घकालीन सामाजिक(आर्थिक असरहरु समेत समावेश छन्।

वायू प्रदूषणका कारण औसत नेपाली नागरिकको जीवन प्रत्याशा ३.४ वर्षले घटिरहेको उल्लेख गरिएको छ। वार्षिक करिब २६ हजार मानिसको समयअगावै मृत्यु वायू प्रदूषणका कारण भइरहेको भनिएको छ । देशका सक्रिय र उत्पादनशील उमेर समूहका नागरिकहरू स्वास्थ्य समस्या वा अकाल मृत्युको चपेटामा पर्छन्, यसको प्रत्यक्ष असर श्रम बजारमा देखिन्छ। उत्पादनशील श्रमिकको कमीले औद्योगिक उत्पादनमा ह्रास ल्याउँछ, जसले समग्र अर्थतन्त्रको वृद्धिदर घटाउने उल्लेख छ ।

नेपालको पर्यटन क्षेत्र वायुप्रदूषणबाट प्रत्यक्ष प्रभावित भइरहेको छ। काठमाडौं उपत्यकाको निरन्तर धुंधयुक्त आकाश, हिमालयको दृश्य अवरुद्ध हुनु र स्वच्छ हावाको कमीले विदेशी पर्यटकलाई निराश तुल्याइरहेको छ। सन् २०२३ को तथ्याङ्क अनुसार नेपालमा आउने अधिकांश पर्यटक प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनका लागि आउने गरेका छन्। तर, वायू प्रदूषणले गर्दा प्राकृतिक सौन्दर्य अनुभूतिको प्रमुख पक्ष प्रत्यक्ष असरमा परेको छ। विशेषगरी, हिमाली क्षेत्रमा दृश्यता कम हुनाले हिमाल हेर्न आउने पर्यटकमा गिरावट आउने क्रम बढ्दो छ। पर्यटकीय क्षेत्र घट्दा विदेशी मुद्रा आम्दानीमा ह्रास आउने, रोजगारी घट्ने र पर्यटन सम्बन्धित व्यवसायहरु जोखिममा पर्ने क्रम बढी रहेको विश्व बैंकले भनेको छ ।

वायू प्रदूषणको अर्को गम्भीर असर नेपालको हवाई उड्डयन क्षेत्रमा देखिएको छ। काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा वायूको कम दृश्यता र धूलो प्रदूषणका कारण अवतरण तथा उडानमा बारम्बार अवरोध आइरहेका छन्। यसले देशको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार तथा पर्यटन दुबैमा प्रत्यक्ष असर पारिरहेको छ।

वायू प्रदूषणले नेपालमा औद्योगिक विकासका संभावनालाई समेत कमजोर तुल्याइरहेको छ। नेपालका अधिकांश साना तथा मध्यम उद्योगहरू अझै पनि परम्परागत प्रविधिमा निर्भर छन्, जसले उत्सर्जन धेरै गर्छन्। विश्व बैंकले साना तथा मध्यम उद्योगहरूमा विद्युतीय बायलर र भट्टी प्रयोग, सफा इन्धन प्रवर्द्धन, इँटा र सिमेन्ट उद्योगमा दक्ष र कम प्रदूषण हुने प्रविधि अपनाउन जोड दिँदै आएको छ।

नेपालमा निजी सवारी साधनको तीव्र वृद्धि पनि वायू प्रदूषणको मुख्य कारण मध्ये एक हो। काठमाडौं उपत्यकाको सडकमा चल्ने निजी सवारीसाधनहरू पुराना र प्रदूषणकारी छन्। सवारी साधनको धुँवा मात्र होइन, नियमित मर्मत नहुनु, सडक धुलो नियन्त्रणमा कमजोरी हुनुजस्ता कारणले पनि वायू प्रदूषण चुलिएको छ। विद्युतीय सवारी साधन विस्तारलाई विश्व बैंकले दीर्घकालीन समाधानको एउटा मुख्य उपाय मानेको छ।

वायू प्रदूषणको समस्या केवल नेपालको आन्तरिक मात्रै नभएर क्षेत्रीय प्रकृतिको समेत रहेको विश्व बैंकको प्रतिवेदनले स्पष्ट पारेको छ। इन्डो-ग्याङ्गेटिक समथर क्षेत्र र हिमाली फेदीमा साझा वायुपट्टि रहेकोले भारत, बंगलादेश र पाकिस्तान लगायत छिमेकी मुलुकहरूसँग सहकार्य नगरी समस्या समाधान असम्भवजस्तै देखिन्छ। सीमा पार प्रदूषण नियन्त्रणका लागि साझा रणनीति, प्राविधिक सहकार्य र आँकडा आदानप्रदान अत्यन्त जरुरी छ। नेपालले सीमापार प्रदूषण वार्ता र सहकार्यमा सक्रिय कूटनीतिक पहल बढाउनुपर्ने देखिएको छ । ।

वन डढेलो समेत वायू प्रदूषणको गम्भीर स्रोत बनेको छ। विशेषगरी हिउँदे याममा सुख्खा पर्नु, वन व्यवस्थापनमा कमजोरी, सतर्कता प्रणालीको अभाव र जनचेतनाको कमीले वन डढेलोको जोखिम बढाइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*