सिद्धार्थ प्रिमियरले कमायो ४ करोड नाफा, बीमाकोष दोब्बरले बढ्दा अन्य सूचक कस्ता?

२५ बैशाख २०८३, शुक्रबार ०७:२७

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणलाई हेर्दा वित्तीय सूचकहरूमा उतारचढाव देखिएको छ।

गत आवको तेस्रो त्रैमाससम्म ४५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा ९१.१५ प्रतिशतको गिरावट सहित ४ करोड १ लाख रुपैयाँ मात्रै खुद नाफा कमाउन सफल भएको छ।

यद्यपि कम्पनीको खुद ब्याज आम्दानी भने समीक्षा अवधिमा २ अर्ब ६७ करोड ५४ लाख रुपैयाँबाट सामान्य बढेर करीब २ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। आम्दानीमा सुधार नै देखिएको भए पनि जेनजी आन्दोलन र बाढी पहिरोको कारण ठूलो मात्रामा दाबी परेकोले नाफामा तीव्र दबाब परेको हो।

यता कम्पनीको निर्जीवन बीमाकोष ५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँबाट झण्डै दोब्बर अर्थात् ९७.९६ प्रतिशतले बढेर ११ अर्ब १५ करोड ९९ लाख रुपैयाँ नाघेको छ। यद्यपि लगानी तथा कर्जाबाट हुने आम्दानीमा करीब ३२ प्रतिशतको गिरावट देखिएको छ।

यता कम्पनीको कुल आम्दानी २ अर्ब १५ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ९२ करोड २४ लाख रुपैयाँमा झर्दा कुल खर्च भने १ अर्ब ५२ करोड ६८ लाख रुपैयाँबाट बढेर १ अर्ब ८६ करोड ५१ लाख रुपैयाँ नाघेको छ। कम्पनीको प्रतिशेयर आम्दानी २१.५५ रुपैयाँबाट घटेर १.९१ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ २५०.०६ रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २३ करोड १८ लाख रुपैयाँ र जगेडा कोषमा ३३ करोड २७ लाख रुपैयाँ सञ्चिति रहेको छ। चैत मसान्तसम्म आइपुग्दा कम्पनीले करीब ८ अर्ब रुपैयाँ लगानी गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*